सडकमा थुपारेको माटोले लिदैछ ज्यान

युग संवाददाता     196 पटक पढिएको    

सडकमा थुपारेको माटोले लिदैछ ज्यान

अछाम / कर्णाली नदी छेउमा रोपाइँको काम सकेर साउन ८ गते लेकको घर फर्केकै राति तुर्माखाँद गाउँपालिका–२, भुलुमा तीन जनाले ज्यान गुमाए । घर माथिबाट आएको पहिरोले पुरेर एकै परिवारका तीन जनाको मृत्यु भएको थियो । यो पहिरोको कारण थियो, जथाभावी खनिएको सडक । 
यही दिन आउला भनेर त्यहिबेला घरमाथिबाट जथाभावी सडक नखन्न उज्ज्वलसिंह विष्टले धेरै अनुरोध गरेका थिए । पहिरोमा श्रीमती गुमाएका विष्टले निकै पछुतो मान्दै भने,‘त्यता रोड नल्याइदिनुस्, हाम्रो घर पुरिएला भनेर पहिला नै भनेका हौँ । गरिब हुन् भनेर हामीलाई हेपे, अहिले यस्तो अवस्था भयो ।’ 
मृतकका आफन्त स्थानीय तुलसी विष्टले गुनासो गरिन् । ‘रोडको छेउतिर ढालेर राखेको चिउराको रुख हटाइ दिनुस् भनेर हामीले पटक पटक भन्यौँ तर कसैले सुनेनन् । अहिले मान्छेको ज्यान गयो ।’  सडक काट्ने (खन्ने) ले घर माथिको माटो मिलाएर रुखको व्यवस्थापन गरिदिएको भए पहिरो जाने अवस्था नआउने स्थानीयको भनाइ छ । नयाँ सडकको कारण पहिरो गएको वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीले बताए । 
जेठको अन्तिम सातातिर खनिएको सडक भासिँदा रुखसहितको पहिरो सुरु भएर घरसम्म आइपुगेको थियो । तुर्माखाँद–भैरवस्थान– भुलु–रहफ सडक खण्डको विष्ट टोलको सडकबाट आएको पहिरोले ४२ वर्षीया हरिकला विष्ट, २५ वर्षीय वीरेन्द्र विष्ट र १५ वर्षीय संविधान विष्टले ज्यान गुमाएका थिए । ठेक्कामार्फत खनिएको उक्त सडक वातावरणीय प्रभाव अध्ययन नै नभएको पाइएको छ । पहिरो गएको ठाउँकै अगाडि भागबाट सडक भासिन थालेको र अर्को घरसमेत पुरिने सम्भावना रहेको स्थानीय तुलसी विष्टको भनाइ छ । 
उनका अनुसार सडककै कारण भुलुको निङगाल खानेपानीसमेत बगेको छ । अहिले आकाशे पानीको भरमा रहेका भुलुवासीले वर्षा सकिएपछि खानेपानी अभाव भोग्नुपर्ने अवस्था छ ।
तुर्माखाँद गाउँपालिकाका प्राविधिले सडक छेउमा थुपारिएको माटो र रुखलाई व्यवस्थापन गर्न स्थानीयले नदिएको बताए । यद्यपि थुपारिएको माटो र रुखको व्यवस्थापनको सूचना गाउँपालिकासम्म नआएको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बुढाले बताए । 
ग्रामीण भेगमा जथाभावी खनिएका सडकले अव्यवस्थित रूपमा फालेका माटो नै वर्षाका बेला पहिरोको मूल स्रोत बन्ने गरेको स्थानीयको भनाइ छ । सडक खन्दा कटान गरिएका भीरपाखा वर्षामा बग्दा त्यसले खेतीयोग्य जमिन पुर्नुका साथै घरबस्ती र मानवीय क्षतिसमेत गरिरहेको बताइन्छ ।   



मङ्गलबार १७, साउन २०७९ ०९:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.