कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

युग संवाददाता     86 पटक पढिएको    

कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

मंगलबार उपसभापतिद्वय, महामन्त्रीद्वय तथा विभिन्न उपसमितिका सबै संयोजकहरूबीच कार्यक्रम स्थलमा बृहत् छलफल 

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । तीन पटक मिति तय गरेर पनि बस्न नसकेको बैठक अब चौथो तिथिमा गएर भने बैठक हुने पक्का भएको छ । 


सोअनुसार तयारी तीव्र गतिमा हुँदै अन्तिम चरणतिर पुगेको पार्टीले जनाएको छ । सो तिथिअनुसार बैठक फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुनेछ । 

मंगलबार पार्टीका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा विभिन्न उपसमितिका सबै संयोजकहरू कार्यक्रम स्थलमा बसेर बृहत छलफल गरी बैठकलाई सफल बनाउन योजना बनाएका छन् । 

पार्टी मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महासमितिको तयारी अन्तिम चरणमा पुगेको बताए । उनले भने, ‘करिब करिब अन्तिम चरणमा पुगेको छ । आज हाम्रो पार्टीका दुई जना उपसभापतिहरू, दुई जना महामन्त्रीज्यूहरू, उपसमितिका सबै संयोजकज्यूहरू कार्यक्रम स्थलमै बसेर सबै छलफल गरियो । सबैकुरा अन्तिम अन्तिमतिर पुगिराछ । ९५ प्रतिशत तयारी भइसकेको छ ।’

जिल्लाबाट प्रतिनिधिहरू छनोट भएर आउने क्रम पनि अन्तिम चरणमा पुगेको छ । यसबारे पौडेलले बुधबार निर्वाचन समितिले पूर्ण जानकारी दिने पनि बताए । उनले भने, ‘जिल्लाहरूको हकमा केही बाँकी छ होला भोलिसम्म निर्वाचन समितिले विस्तृतमा दिनेछ ।’

जाजरकोट भूकम्प हुँदै राष्ट्रिय सभाको निर्वाचनका लागि भन्दै महासमिति बैठकको मिति यसअघि तीन पटक सरिसकेको छ । यसपालि भने गोदावरीमा हुने पक्का भएको छ । 

त्यसका लागि महासमिति प्रतिनिधिहरू पनि आफ्ना भनाइ राख्नका लागि उत्साही देखिएका छन् । काठमाडौँबाट महासमिति प्रतिनिधि नीलकण्ठ गौतमले यो महासमिति बैठकमा राष्ट्रिय मुद्दाहरूलाई जोड दिएर विधान परिमार्जन गर्नतर्फ दबाब दिने उल्लेख गरे । 

उनले भने, ‘राष्ट्रिय राजनीतिको बारेमा कुरा उठाउँछौँ, भ्रष्टाचारका मुद्दाहरू बढी हुन्छन् । भ्रष्टाचारका मुद्दामा केन्द्रीय नेताहरू नै संलग्न भएको हुनाले सबै साथीहरूले आवाज उठाउनु हुन्छ र हिन्दू राष्ट्रका बारेमा पनि आवाज उठ्छ । सरकारका बारेमा पनि आवाज उठ्छ । यसपालि पार्टीको विधान पनि परिमार्जन गर्नुपर्छ भन्ने आवाज उठ्छ ।’

महासमिति बैठकलाई नीति महाधिवेशन पनि भनिने हुनाले यसपालि ब्यापक रुपमा महासमिति सदस्यहरूले विचार प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । 

देशभरबाट महासमिति बैठकका लागि अढाई हजार महासमिति सदस्यहरू काठमाडौँ आउने छन् । महाधिवेशनपछिको शक्तिशाली बैठक हुने भएकाले पनि यसका लागि तँछाडमछाड हुनु स्वभाविकै हो । 

यो बैठकले केन्द्रीय कार्यसमितिको निर्वाचन बाहेक महाधिवेशनले गर्ने सबै कार्यहरू गर्न सक्ने वैधानिक व्यवस्था भएकाले पनि यसको महत्व निकै छ । 

यही बैठकले पार्टीको राजनीतिक कार्यदिशा तय गर्नेदेखि विधानसमेत फेरबदल गर्न सक्ने हैसियत राख्छ । 

तीन प्रस्ताव प्रस्तुत हुँदै, निर्णय केन्द्रीय समिति बैठकबाट 
महासमिति बैठकका लागि अजेन्डा पारित गर्नका लागि आगामी बिहीबार ९फागुन ३ गते० पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । 

उक्त बैठकले महासमितिका लागि अजेन्डा तय गर्नेछ । महासमितिमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक र समसामयिक प्रस्ताव प्रस्तुत गर्नेछन् । 

तीन ओटै प्रस्ताव लेखन सम्पन्न भइसकेको नेताहरू निकट स्रोत बताउँछ । उनीहरूले विभिन्न विज्ञहरूसँग पनि छलफल गरेका छन् । 

कांग्रेसका बैठकहरू भूतप्रभावी भए भन्ने आरोप जहिल्यै आउने गर्छ । त्यसैले पनि यसपालिको बैठकलाई अग्रगामी बनाउने योजनाका साथ महामन्त्रीद्वय लागेको उनीहरू निकट नेताहरू बताउँछन् । 

विशेषगरी यसपालिको बैठकमा पार्टीको संगठन, निर्वाचन प्रणाली सँगसँगै हिन्दूराष्ट्रको मुद्दा ब्यापकरुपमा उठाउने तयारीमा नेताहरू लागेको पाइएको छ । 

पार्टीको निर्वाचन प्रणालीका लागि अब सभापतिका लागि स्थानीय तहका नेताहरूलेसमेत चुन्ने अधिकार राख्ने गरी विधान परिमार्जन गर्नुपर्नेमा नेताहरूको जोड रहेको छ । 

अहिलेको संविधानको गति र मर्मअनुसार पार्टीको विधान पनि परिमार्जन गर्नका लागि दबाब दिइनेसमेत महासमिति प्रतिनिधिहरूले बताएका छन् । 

तोकेरै यी मुद्दामा अडिक हुने भनेर भन्न नसके पनि महासमिति सदस्यहरूले सबै नेपालीका घरघरमा पुर्याउने र सबै नेपालीको अपनत्व रहने गरी विधान बनाएर ‘सबैका लागि कांग्रेस’, ‘घरघरमा कांग्रेस’ नीति ल्याउनेसमेत चर्चा गरिरहेका छन् । 

कांग्रेसले नेपाली राजनीतिको हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेकाले त्यसको जश लिँदै विकास निर्माणमा पनि नेतृत्व लिनुपर्नेमा जोड दिँदै आइएको छ । 



बुधबार ०२, फागुन २०८० ०५:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.