धनगढीमा शनिवारे महिला उद्यमी मेला

युग संवाददाता     29 पटक पढिएको    

धनगढीमा शनिवारे महिला उद्यमी मेला

 


धनगढी धनगढी उपमहानगरपालिकाले महिला उद्यमशीलता प्रवर्द्धनका उद्देश्यले शनिवारे मेला सुरु गरेको छ। शनिवार देखि औपचारिक रूपमा सुरु गरिएको मेला हरेक साताको शनिवार धनगढी–१ पार्कमोडस्थित जेनजी मार्गमा दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। मेलाको उद्घाटन सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापाले गरेका हुन्। उद्घाटन कार्यक्रममा मन्त्री थापाले महिलाको सीप र उत्पादनलाई बजारसम्म पु९याउने र उनीहरूको आत्मबल वृद्धि गर्ने उद्देश्यले यस्तो मेला आयोजना गर्नु उपमहानगरपालिकाको सराहनीय पहल भएको बताए। उनले भने, “महिलाहरूको सीपलाई बजारसम्म पुर्याउने, उनीहरूलाई आर्थिक रूपमा सबल बनाउने र आत्मनिर्भर बनाउने कार्यमा यस मेलाले महत्वपूर्ण भूमिका खेल्नेछ।”

उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उप–मेयर कन्दकला कुमारी रानाले महिला सशक्तीकरण र स्वरोजगारलाई प्राथमिकता दिँदै शनिवारे महिला उद्यम बजारको सुरुवात गरिएको बताइन्। उनले भनिन्, “यो बजार महिलाको सीप र परिश्रमलाई आर्थिक अवसरमा रूपान्तरण गर्ने मञ्च हो। यहाँ धनगढीमा बसोबास गर्ने महिलाहरूले आफ्ना सीपअनुसार उत्पादन गरेका सामग्री र परिकारको बिक्री–वितरण गर्न सक्नेछन्।” उप–मेयर रानाले मेलाले सीप भएका महिलालाई घरमै बस्नुपर्ने बाध्यताको अन्त्य गर्दै, उनीहरूलाई आत्मनिर्भर बनाउने दिशामा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।


मेलाको पहिलो दिन विभिन्न महिलाले आफ्ना उत्पादन तथा परम्परागत परिकारका स्टलहरू राखेका थिए। हस्तकलादेखि लिएर घरेलु खाद्य परिकार, कपडा, सुन्दरता सामग्री, र घरायसी प्रयोगका वस्तुसम्मको प्रदर्शनी गरिएको थियो। मेलामा आएका दर्शक र उपभोक्ताले स्थानीय महिलाद्वारा निर्मित वस्तुहरूमा चासो देखाएका थिए। धनगढी उपमहानगरपालिकाले महिलाको सीप र उत्पादनलाई निरन्तरता र बजार पहुँच दिलाउने उद्देश्यले हरेक साताको शनिवार यस मेला सञ्चालन गर्ने जनाएको छ। स्थानीय प्रशासनले मेला क्षेत्रलाई सुरक्षित र सहज बनाउने तयारी गरेको छ।

स्थानीय महिला उद्यमीहरूले भने यस्तो अवसरले आफ्नो व्यवसाय र सीपलाई थप सशक्त बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। शनिवारे मेलाबाट महिलाहरूको आत्मनिर्भरता, आयआर्जन, र उद्यमशीलताको नयाँ बाटो खुलेको जनाइएको छ।



आइतबार १७, कार्तिक २०८२ ०३:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal