धनगढी धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा शिक्षा, सडक, पुल, शौचालय लगायतका ११ वटा ठूला योजनालाई प्राथमिकता दिएर कार्यान्वयनमा ल्याएको छ । जेनजी आन्दोलनका कारण ठेक्का प्रक्रिया पछि धेकेलिएका योजना अघि बढ्दा केही योजनाले सम्झौतादेखि निर्माणसम्मको गति लिएका छन् ।
नगरका विभिन्न वडामा चालु आर्थिक वर्षमा विद्यालय भवन, शौचालय, सडक, पार्क र पुल निर्माणलगायतका दर्जनौं योजना सञ्चालन भइरहेका छन् । यीमध्ये झण्डै एक दर्जन ठूला योजनाको काम अघि बढाइएको हो । उपमहानगरको योजना तथा बजेट शाखा प्रमुख इन्जिनियर कमल ओझाका अनुसार आन्तरिक स्रोतबाट २ करोडदेखि ८ करोड रुपैयाँसम्मका ठूला योजना सञ्चालनमा रहेका छन् । यसपालि ठूला योजनाअन्तर्गत सडक, पुल मात्रै नभएर ३ वटा विद्यालय भवन पनि परेका छन् । जसमध्ये धनगढी–१२ स्थित शिद्धनाथ माविको विद्यालय भवन पनि रहेको छ । यो भवनको अनुमानित लागत ८ करोड रहेको छ । योजना शाखा प्रमुख ओझाका अनुसार विद्यालय भवन निर्माणका लागि ठेक्का सम्झौता भएर निर्माण कार्य अघि बढिसकेको छ ।
त्यस्तै, वडा नं। ३ को त्रिभुवन माविको विद्यालय भवन पनि निर्माण कार्य सुरु भइसकेको छ । भवन निर्माणका लागि २ करोड ६३ लाख विनियोजन गरिएको छ । वडा नम्बर १६ मा रहेको बेहडाबावा माविको विद्यालय भवनको पनि निर्माण प्रक्रिया अघि बढिसकेको छ । भवन निर्माणका लागि २ करोड २४ लाख बजेट छुट्याइएको छ । यी निर्माण कार्य उपमहानगरको शिक्षा तथा पूर्वाधार विकासअन्तर्गत अघि बढाइएका योजना हुन् ।
यस्तै सडकअन्तर्गतका ३ ठूला योजना पनि कार्यान्वयनमा गइसकेका छन् । वडा नं। १२ को सेन्टर प्ट ‘ए’ गाउँ जोड्ने सडक निर्माण व्यवसायी छनोट गरेर निर्माण प्रक्रिया अघि बढेको योजना प्रमुख ओझाले जानकारी दिए । यो सडकका लागि ९ करोड ५१ लाख बजेट विनियोजन भएको छ । वडा नं। १६ को बेहडाबाबा सडक स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ । यो सडकमा १ करोड ६५ लाख बजेट परेको छ । यस्तै वडा नं। १० को घले चोकदेखि जनकल्याण मावि जोड्ने सडक निर्माणधीन चरणमा रहेको छ ।
गत आर्थिक वर्षमा सार्वजनिक शौचालय निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । जसअन्तर्गत धनगढीका मुख्य पाँच स्थान, जिल्ला वन कार्यालयअगाडि, मुख्यमन्त्री कार्यालयअगाडि, जिल्ला प्रशासन कार्यालयअगाडि र साल्टा ट्रेडिङ अगाडि स्मार्ट शौचालय बन्ने तय भएको थियो । पहिलो चरणका ५ वटै स्मार्ट शौचालय निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् । यी शौचालयका लागि १ करोड २० लाख खर्च हुने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षमा पनि ३ वटा थप सार्वजनिक शौचालय नगरपालिकाको प्राथमिकतामा परेका छन् । जसका लागि १ करोड १० लाख बजेट विनियोजन भएको छ । शौचालय निर्माण प्रक्रियाका लागि ठेक्का आह्वान गरेर सम्झौताको प्रक्रियामा रहेको छ । चालु आर्थिक वर्षमा पुल निर्माणका ३ ठूला योजना पनि अघि बढाइएका छन् । वडा नं। ४ र ५ को राष्ट्रिय आविदेखि शिवपुरी जोड्ने कैलाली खोलामा पुल निर्माणाधीन चरणमा छ । यसको लागत अनुमानित ६ करोड ११ लाख छ । यस्तै जोकैया नालामा पुल निर्माणको ठेक्का सम्झौता गरेर निर्माणधीन अवस्थामा रहेको छ । यसको अनुमानित लागत ६ करोड २१ लाखको छ र वडा नं। १७ मा रहेको सरौटा खोला बन्ने पुलको ६ करोड ६६ लाख बराबरको लागत अनुमानसहित ठेक्का सम्झैता अघि बढेको छ ।
उपमहानगरको अर्को ठूलो योजनामध्ये एक धनगढी पार्क पनि रहेको छ । ३ करोड लागत अनुमान गरिएको यो पार्कको ठेक्का आह्वान गरेर ठेक्का सम्झौता प्रक्रियामा रहेको योजना तथा बजेट शाखा प्रमुख ओझाले जानकारी दिए । जेनजी आन्दोलनको असर धनगढी उपमहानगरका ठूला योजनाहरूमा पनि परेको छ । यी योजना ठेक्का प्रक्रियामा रहेका बेला देशभर आन्दोलन चर्किएपछि प्रक्रिया केही पछि धकेलिएको शाखा प्रमुख ओझा बताउँछन् ।
‘आन्दोलनपछि देशको अवस्था नै के हुने भन्ने प्रश्न उठेपछि हामीले यो ठेक्का प्रक्रिया अघि बढाउन सकेका थिएनौं । अवस्था सामान्य भएपछि छिटो कार्यान्वयन गर्नुपर्ने यी योजनाहरूको ठेक्का प्रक्रिया अघि बढाएका हौं,’ उनले भने । काम सुरु हुन केही ढिला भए पनि लक्ष्यअनुसार योजना सम्पन्न हुने विश्वास उनले व्यक्त गरे । तर बहुवर्षीय योजनामा भने म्याद थप गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ । धनगढी उपमहानगरपालिकाले यस वर्ष शिक्षा, सडक, भवन, पुल तथा सामुदायिक संरचनासहितका क्षेत्रमा ठूलो परिमाणमा योजना अघि सारेको छ ।कान्तिपुरबाट
प्रतिकृया दिनुहोस