घरेलु टोली भारतले साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको हो। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई अतिरिक्त समयमा ५-२ गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो ।
भारतलाई जित दिलाउन गुर्किरात सिंहले ह्याट्रिकसहित ४ गोल गरे । यस्तै हिमान्सु जान्ग्राले एक गोल गरे ।बंगलादेशका मोहमद रोजन र शाहीम मियाले एक एक गोल गरे ।
रोमान्चक खेलमा सुरुआती अग्रता भारतले नै बनाएको थियो । दोस्रो मिनेटमा गुर्किरात सिंहले पेनाल्टीमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।तर, ४५ औं मिनेटमा मोहमद रोजनले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ४८ औं मिनेटमा शाहीम मियाले गोल गर्दै बंगलादेशलाई २-१ को अग्रता दिलाए ।खेलको ६० औं मिनेटमा गुर्किरातले व्यक्तिगत दोस्रो गोल भारतलाई २-२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको निर्धारित ९० मिनेटमा थप गोल भएन र खेल अतिरिक्त समयमा गएको थियो ।अतिरिक्त समयमा भारतले लगातार तीन गोल थप्यो ।
खेलको ९२ औं मिनेटमा हिमान्सु जान्ग्राले गोल गर्दै भारतलाई ३-२ को अग्रता दिलाए ।९३ औं मिनेटमा गुर्किरातले ह्याट्रिक पूरा गर्दा भारत ४-२ ले अघि रह्यो ।
त्यसपछि खेलको ९९ औं गुर्किरातले व्यक्तिगत चौंथो गोल गर्दै भारतलाई ५-२ को जित दिलाए ।यस जितसँगै भारतले लिग चरणमा व्यहोरेको हारको बदला लिएको छ ।बंगलादेशले लिग चरणमा भारतलाई २-१ ले हराएको थियो ।
प्रतिकृया दिनुहोस