बैतडी / बैतडीको दशरथचन्द नगरपालिका–१०, झुलाघाट बजारका शौचालयको ढल सिधै महाकाली नदीमा मिसाउने गरिएको छ । बैतडी जिल्ला खुला दिसामुक्त भए पनि सदरमुकाम, गढी, गोठालापानी र शाहीलेक क्षेत्रका शौचालयका ढल भरिएपछि नदीमा मिसाउने गरिएको छ ।
नगरपालिकासँग शौचालयका ढल व्यवस्थित गर्ने योजना नहुँदा महाकाली नदीमा ढल मिसाइने गरिएको छ । बजार क्षेत्रका सेफ्टी टङ्की खाली गर्नेक्रममा निकालिएको फोहोर समेत नदीमै फालिने गरिएको छ ।
दशरथचन्द नगरपालिकाले स्वच्छ सफा नगरको नारा अघि सारेर बजार क्षेत्रमा लाखौँ रुपैयाँ खर्च गरेर सरसफाइ गरे पनि शौचालयका ढल र सेफ्टी टङ्की व्यवस्थापन गर्ने योजना ल्याउन सकेको छैन । नगरपालिकाले शौचालयका सेफ्टी टङ्की सफा गर्ने उपकरण जडित मेसिन ल्याउन सके बजार क्षेत्रका शौचालय व्यवस्थित बन्न सक्ने दशरथचन्द नगरपालिका–४ का परमानन्द पाण्डेयले बताए ।
उनले भने–‘शौचालयका सेफ्टी टङ्की भरिए खाली गर्ने ठाउँ छैन । शौचालय भरिए फेरि खुला दिसा गर्नुपर्ने बाध्यता आउन सक्छ ।’ दशरथचन्द नगरपालिका–१०, झुलाघाट बजारका शौचालयका ढल महाकाली नदीमा मिसिँदा महाकाली नदी प्रदूषित बन्न थालेको छ । दशरथचन्द नगरपालिका–६, शेरा, वडा नम्बर १०, झुलाघाट हुँदै पञ्चेश्वर र शिवनाथ गाउँपालिकाको कुश्मत घाटसम्म पुगेर महाकाली नदीको पानी परीक्षण गर्दा ठाउँठाउँमा कोलिफर्म (दिसामा हुने जीवाणु) भेटिएको पानी परीक्षण गर्ने सामाजिक संस्था रुडेस बैतडीले जनाएको छ ।
महाकाली नदी तटीयक्षेत्रमा गठन भएका महिला सशक्तीकरण मञ्चले महाकाली नदीको पानी परीक्षण गराउँदा पानीमा कोलिफर्म भेटिएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए ।
नदीमा शौचालयका ढल मिसिँदा महाकालीको पानी उपभोग गर्ने नदी किनारका बासिन्दा समस्यामा परेको दशरथचन्द नगरपालिका–१०, तिरखडेनीका महिला शान्ति बुडालले बताइन् । झुलाघाट बजारका शौचालयका ढल व्यवस्थित गरिदिन पटक पटक नगरपालिकामा गुनासो राखे पनि कुनै सुनुवाइ नभएको उनले बताइन् ।
सम्भावना छ ढलको मल
बैतडी सदरमुकामका शौचालयबाट सुक्खा फलफूल विकास केन्द्र सतबाँझका लागि मल बन्न सक्ने सम्भावना छ । दशरथचन्द नगरपालिका–१, गुरुखोलासँगै जोडिएको सतबाँझ सुक्खा फलफूल विकास केन्द्रले वार्षिक दुई लाख रुपैयाँको गोठे मल किन्दै आइरहेको छ । सरकारी स्वामित्वमा रहेको सतबाँझ सुक्खा फलफूल विकास केन्द्रको २९ हेक्टर क्षेत्रफलमा ५० हजारभन्दा बढी ओखर, कागजी बदाम, जैतुनलगायतका बिरुवा रोपिएका छन् । बिरुवा र बगैँचा हुर्काउन केन्द्रले ट्याक्टर भाडामा लिएर गाउँबाट प्रतिडोको ५० रुपैयाँका दरले गोठेमल किन्ने गरेको प्राविधिक अर्जुन खड्काले बताए । नगरपालिकाले सदरमुकामको शौचालय खाली गरेर दिए मल बनाउन सकिने खड्काले बताए ।
प्राविधिक खड्काले भने–‘हामीले वार्षिक दुई लाख रुपियाँ बराबरको गोठे मल किन्ने गरेका छौँ । नगरपालिकाले मलका लागि सम्झौता गरे सतबाँझ सुक्खा फलफूल विकास केन्द्रले मल किन्न सक्छ । मेसिन उपकरणले शौचालयका टङ्की सफा गरेर दुर्गन्धरहित मल बनाएर प्रयोग गर्न सकिन्छ ।’
प्रतिकृया दिनुहोस