काठमाडौं। राजस्व अनुसन्धान विभागले भन्सार छलीको आशंकामा बरामद गरेका तीन वटा ट्रक १५ दिनपछि हिजो विनाकारबाही छाडेको छ। नेकपाबाट जितेका बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले गलत घोषणा गरी भन्सार अति कम तिरेर रसुवा भन्सारबाट तीन वटा ट्रकमा रेडिमेड कपडा ल्याएका थिए।
राजस्व अनुसन्धान विभागले उनका ट्रक बरामद गरी भन्सार छली गरेको विवरण संकलन गरिरहेको अवस्थामा एकाएक मंगलबार ती ट्रक छोडिएको छ। मंगलबारै मिडियामा नेकपाका मेयरका ट्रक छुटाउन शीर्षनेताले नै दबाब दिएको समाचार सार्वजनिक भएपछि शुक्रबार राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले विनाकारबाही ६ लाख रुपैयाँमात्र तिराएर छोडिदिएका छन्।
मेयर शेर्पाले नेकपाका मध्यमस्तरका नेताहरुमार्फत् दबाब दिएर मात्र महानिर्देशक मैनालीले ट्रक नछाडेपछि बरिष्ठ नेता माधवकुमार नेपालमार्फत् नै दबाब दिएको स्रोतले बताएको छ। मंगलबार मिडियाले तस्करीका ट्रक छोड्न दबाब दिएको समाचार आएपछि थप कडाइ हुने भएपछि शेर्पा सिन्धुपाल्चोकका नेकपाका नेताहरु बोकेर माधव नेपालको निवासमा पुगेका थिए।
माधव नेपालले नै फोन गरेर मेयरका ट्रक समातेर के बहादुरी देखाउन खोजेको भनेपछि महानिर्देशक मैनालीले ट्रक छाड्नुपरेको बाध्यता सुनाउने गरेका छन्। हाम्राकुराले मैनालीसँग प्रश्न गर्दा आफूलाई कसैले दबाब नदिएको बताए। कानुन बमोजिम छोड्न मिल्ने छोडेका छौ, अझै पनि अनुसन्धान नसकिएकोले धरौटी लिएको मैनालीले बताए।
शेर्पाले तीन वटा ट्रकमा ठूला मानिसले लगाउने पाइन्टलाई बेबी पाइन्ट भनेर गलत घोषणा गरी भन्सार छली गरेका थिए। विभागले प्रारम्भिक अनुसन्धानमा १ करोड भन्सारछली गरेको विवरण निकालेको स्रोतले बताएको छ। राजस्व चुहावट ऐन अनुसार १ करोड भन्सारछली भएमा जरिवानासमेत ३ करोड तिर्नुपर्ने हुन्छ। ३ करोड रुपैयाँ तिर्नुपर्ने भएपछि मेयर शेर्पाले नेता गुहारेर ६ लाखमै ट्रक छुटाएर लगेका हुन्।
रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले पनि नेकपाका नेताहरुसँग हारगुहार गरी ट्रक छुटाएका थिए। यदि शेर्पाका ट्रक नछुटाएको भए भन्सार प्रमुखलाई विभागले कारबाहीका लागि अख्तियारमा पठाउनुपर्ने हुन्छ। भन्सार प्रमुख खड्का यसअघि विष्णु पौडेल अर्थमन्त्री हुँदा उनको सचिवालयमा कार्यरत थिए।
पीए खड्का फस्ने भएपछि नेकपाका महासचिव बिष्णु पौडेलले राजस्वका महानिर्देशक मैनालीलाई ती ट्रक छोड्न चर्को दबाब दिएपछि भन्सारछलीको १ करोड बिवरण निकालिसकेको विभाग पछि हटेको स्रोतको दाबी छ। भन्सारछली भएको ट्रक बरामद भएपछि राजस्व चुहावट ऐन अनुसार २ गुणा बढी जरिवाना तिर्नुपर्ने हुन्छ । यदि ऐृन अनुसार कारबाही भएको भए शेर्पाले ३ करोड तिर्नुपर्ने थियो ।
भन्सार अधिकृतद्वय भूपेन्द्र कार्की र पोष्टराज बास्तोला तथा नासुहरु सुवास आचार्य र रामचन्द्र ढुंगानाले ती ट्रक चेकजाँच गरेका थिए। भन्सार प्रमुख पुण्यविक्रम खड्काले उनीहरुले गरेको चेकजाँच सदर गरेका थिए।
यसअघि नासु धिरज थापा र भन्सार अधिकृत पवित्र खड्कालाई मितेरी इन्टरनेशनल ट्रेडर्स र लाङटाङ ट्रेड कन्सर्नले आयात गरेको ब्रान्डेड महंगो जुत्तालाई कमसल भनेर न्यून भन्सार तिराई छाडिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ फागुन १ मा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
मितेरीका संचालक सुमन श्रेष्ठ र रन्जन त्रिपाठीका अलावा लाङटाङका धनबहादुर तामाङ सहितका ८ जनाबिरुद्ध मुद्दा दायर गरेको थियो। उनीहरुमाथि राजस्व अनुसन्धान विभागले पनि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
शेर्पाको न्यून मूल्यांकन गरेको ट्रक बरामद गरे पनि विनाकारबाही छाडिएको छ भने भन्सार प्रमुख पुण्यविक्रम खड्कासहितका ५ कर्मचारीलाई पनि महानिर्देशक मैनालीले उन्मुक्ति दिएका छन्। एकै कसुरमा कुनै कर्मचारीमाथि अख्तियार र राजस्वले दोहोरो मुद्दा दायर गरेका छन् भने नेकपा निकट भन्सारका हाकिम खड्कासहितका ५ कर्मचारीलाई उन्मुक्ति दिइएको छ। भन्सार छलीको ट्रक पनि छाडिएको छ। यस्तो मत्स्यन्याय केपी ओली सरकारमा ब्याप्त छ।
यसरी सेटिङमा १८ लाख भन्सार तिर्नुपर्ने गाडी २ लाख तिरेर भित्र्याउने र छलिएको आधा आधा हिस्सा ब्यापारी र कर्मचारीले भागबण्डा गर्दैआएको स्रोत बताउँछ। रसुवा भन्सारका यसअघिका भन्सार प्रमुख केदार पनेरुले यसैगरी तस्करीलाई प्रश्रय दिएर देशको राजस्व मारी करोडौं करोड रुपैयाँ घुस लिएका थिए। उनी पनि नेकपा समर्थक उपसचिव हुन्। हाल बढुवा भई सहसचिव भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छन्। पुण्यविक्रम खड्काले पनेरु पथमै भन्सारमा कमाउधन्दा गर्दै आएका छन्।
निमफुन्जोका कन्टेनर चेक जाँच गर्ने भन्सार अधिकृत पोष्टराज बाँस्तोला केही महिनाअघि ६ लाख भन्सार छलीको केसमा पनि परेका थिए। रसुवा भन्सारबाट हुने आयातमा रेडिमेड कपडामा प्रति ट्रक २० हजार, निकासीमा १५ हजार र स्याउमा ३ हजार दस्तुरी भन्सार प्रमुख र अअिकृतको फन्डमा जम्मा हुने गरेको छ।
प्रतिकृया दिनुहोस