आफ्नै पिसाबबाट पैसा कमाउँदै किसान

कृषी समाचार

Yugnepal     958 पटक पढिएको    

आफ्नै पिसाबबाट पैसा कमाउँदै किसान

 

    शहरबजारमा सार्वजनिक शौचालयमा पिसाब गर्दा पैसा तिर्नुपर्छ भन्ने सुनेका र भोगेका जिल्लाका किसानले आफ्नै पिसाबबाट पनि पैसा कमाउन सकिन्छ भन्ने कल्पनासम्म गरेका थिएनन् ।

    आफूले कल्पनासम्म नगरेको कुराबाट पैसा कमाउन थालेपछि मङ्गला गाउँपालिकाका कृषक दङ्ग परेका छन् । उक्त गाउँपालिकाले सञ्चालन गरेको ‘पिसाबबाट हिसाब’ अभियान प्रभावकारी बन्दै गएपछि गाउँपालिकाभित्रका सामुदायिक विद्यालय, सार्वजनिकस्थल र घरघरका शौचालयमा पिसाब सङ्कलन बैंक स्थापना गरिएको छ ।

    त्यहाँ सङ्कलन गरिएको पिसाब तरकारी र फलफूल खेती गर्ने किसानले खरीद गरी खेतबारीमा प्रयोग गर्दै आएका छन् । तरकारी र फलफूलमा पिसाब प्रयोग गर्दा उत्पादनमा दोब्बर वृद्धि हुने भएकाले किसानले खेतबारीमा पिसाब गर्न थालेका हुन् । 
    
    उक्त गाउँपालिकाको कृषि शाखाले छ दिने तालीम दिएपछि अर्मनका कृषक तरकारी खेतीमा पिसाब प्रयोग गरे उत्पादन दोब्बर वृद्धि हुनाका साथै फाइदा पनि दोब्बरै  लिन सकिन्छ भन्नेबारे छर्लङ्ग भएपछि यसको प्रयोग गर्न थाल्नुभयो । 
    
    त्यस्तै अर्मनकी याममायाँ श्रीषले पनि  तालीमपछि तरकारी खेतीमा पिसाबको प्रयोग गर्न थाल्नुभयो । श्रीषसँगै तालीममा सहभागी लालबहादुर फगामी र भूमिसरा बुढाथोकीले पनि यसैको सिको गर्न थाल्नुभयो । 

    पिसाबलाई हिसाबमा बदल्ने अभियानमा  सबै वडामा पिसाब सङ्कलन गर्न थालिएको छ । तरकारी खेतीमा मानव मलमूत्र प्रयोगमा आवश्यक प्रयोगात्मक अभ्याससमेत गरेका कृषकले गाउँमै पिसाब बैंक सञ्चालन गर्नेसम्मको योजना बनाएको मङ्गला गाउँपालिका कृषि शाखाका जगत बानियाँले बताउनुभयो । “तालीमले उहाँहरुको सोचमा परिवर्तन आएको छ, पिसाबलाई खेतबारीमा प्रयोगसँगै बिक्रीसम्मको योजना बनाइएको  छ”, उहाँले भन्नुभयो । 

    तालीममा सहभागी अर्मनका कृषक तथा विद्यार्थीले समेत खेर गइरहेको पिसाब सङ्कलन गर्ने प्रतिबद्धता जनाएका छन् । अर्मनको शिशुकल्याण माविमा फागुन ३ देखि ८ गतेसम्म सञ्चालन भएको तालीममा सहभागीले समाजमा रहेको नकारात्मक सोचलाई तालीमले परिवर्तन गरेको बताएका थिए । बिना लगानीमै प्राङ्गारिक तरकारीको उत्पादन दोब्बर हुने भएकाले पनि आफूले सिकेको सीपलाई लागू गरेरै छोड्ने सामूहिक प्रतिबद्धतासमेत सम्बद्ध किसानले जनाएका गाउँपालिकाका सूचना अधिकृत राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।
    
    गाउँपालिकालाई प्राङ्गारिक गाउँ बनाउने अभियानमा लागिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । त्यसका लागि पहिलो चरणमा प्राङ्गारिक मल र मानव मलमूत्रको प्रयोगलाई प्राथमिकता दिइएको उहाँको भनाइ थियो । 
 



शनिबार १८, फागुन २०७५ ०३:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.