किन गराउँदैनन् ३४ प्रतिशत आमाले शिशुलाई पूर्ण रुपमा स्तनपान  !

Yugnepal     566 पटक पढिएको    

किन गराउँदैनन् ३४ प्रतिशत आमाले शिशुलाई पूर्ण रुपमा स्तनपान  !

काठमाडौं । ‘स्तनपानलाई प्रबद्धन गरौं’ भन्ने नाराका साथ बिहीबारदेखि विभिन्न कार्यक्रम गरी स्तनपान सप्ताह मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको अगुवाइमा अगस्ट १ देखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिएको छ । 

नेपाललगायत विश्वका १७० भन्दा बढी देशले एक हप्तासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाउने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन सुरु गरिएको हो । 

नेपालमा हरेक आमाले आफ्ना शिशुलाई नियमित रूपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गराउने उद्धेश्यले एक सातासम्म स्तनपान सप्ताह मनाउने गरिएको छ । 

सप्ताह अवधिभर ७७ बटै  जिल्ला तथा स्थानीय स्तरमा स्तनपान सम्बन्धी विभिन्न चेतनामुलक कार्यक्रम आयोजना गरिएको स्वास्थ्य सेवा  विभागले जनाएको छ । 

स्तनपान गराउन सहजीकरणका लागि १५ जनाभन्दा बढी महिला कार्यरत निजी तथा सरकारी कार्यालयमा स्तनपान कक्ष सञ्चालनमा ल्याउने प्रमुख उद्देश्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा।आरपी बिच्छाले जानकारी दिए ।  

बच्चालाई आमाको दूध नै किन त रु   
आमाको दूध नै शिशुका लागि पहिलो खोपको काम गर्छ । यसले शारीरिक र मानसिक स्वास्थ्य बलियो बनाउनका लागि मात्र नभई समृद्धिका लागि पनि महत्वपूर्ण छ । 

स्तनपानले बालबालिका लाई हुने झाडापखाला, निमोनिया लगायतका  रोग लाग्न नदिने मात्र नभई रोगसंग लड्न सक्ने क्षमता पनि अभिबृद्धि गराउँछ । आमाको दूधले गर्दा शिशुको मृत्य हुने तथा रोग लाग्ने खतरा उच्च हुने गरेको संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

स्तनपानले नवजात शिशुमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै  शक्ति प्राप्त गर्छन । आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा पोषण सगै विभिन्न तत्व दिन्छ । 

स्तनपानले बालबालिकामा हुने भोकमरी तथा सबै प्रकारका कुपोषणबाट जोगाउँछ । थप भार बिना नै बालबालिकाको भोक मेटाउने उत्कृष्ट माध्यम हो, स्तनपान यसले गरिबी कम गर्नका लागि पनि सहयोग गर्छ । 

स्तनपान पोषण, खाद्य सुरक्षा र गरिबी कम गर्ने बलियो माध्यम हो  ।जन्मेदेखि आठ महिनासम्म शिशुहरूका लागि आमाको दूध उत्तम आहार हुनाका साथै यो जीवन रक्षक आहार पनि हो ।

स्वास्थ्य सेवा विभागका अनुसार ३४ प्रतिशत आमाले शिशुलाई पूर्ण रुपमा स्तनपान नगराउने भेटिएको छ । सन् २०१६ को तथ्यांक अनुसार नेपालमा पूर्ण रुपमा स्तनपान गराउनेको संख्या ६६ प्रतिशत छ भने शिशु जन्मेको १ घण्टा भित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत छ ।  

सन् २००६ मा एक घण्टाभित्रै स्तनपान गराउने दर ३५ प्रतिशत रहेको थियो । तथ्याङ्कअनुसार सन् २०१० मा ७१ प्रतिशत आमाले स्तनपान गराउँथे भने हाल ६० प्रतिशतमा झरेको डा। विच्छाले बताए ।  

४५ प्रतिशत शिशुले जन्मेको एक घण्टाभित्र आमाको बिगौति दूध खानबाट बञ्चित हुने गरेका छन् । शिशुलाई कहिल्यै पनि स्तनपान नगराईएको प्रतिशत भने एक छ । आमाको दूधलाई शिशुको पहिलो खोपको रुपमा पनि लिने गरिएको छ ।

विगत १० वर्षको तुलनामा हाल स्तनपान गराउनको संख्या दिनप्रतिदिन घटिरहेको परिवार स्वास्थ्य महाशाखाले जनाएको छ ।

स्तनपानमैत्री कार्यालय नहुनु, फेसनमा बोतलबाट दूधपान ९बोतल फिडिङ० गराउनु तथा उचित परामर्शको अभावमा शहरी तथा कामकाजी आमाहरूले स्तनपान कम गराउने गरेको अध्ययनहरुले देखाएको छ । 

जन्मेको एक घण्टाभित्र स्तनपान गराइसक्नुपर्ने र छ महिनासम्म दूध मात्र खुवाउनुपर्ने चिकित्सकहरुको सुझाव छ । 

हाल ६३ प्रतिशतले शल्यक्रियाबाट बच्चा जन्माउने गरेको तथ्याङ्क छ । डा। विच्छाले शल्यक्रियाबाट जन्म हुने शिशुको संख्या वृद्धिका कारण पनि स्तनपान गराउनेको संख््यामा कमी आएको बताए । 

अस्पतालका चिकित्सकले शल्यक्रिया गरे पनि स्तनपान गराउनुपर्छ भन्ने परामर्श नदिएका कारण पनि स्तनपान घटेको उनले बताए ।

स्तनपान गराउने महिलामा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप–२ र सुत्केरीपछि मनोरोगको सम्भावना न्यून रहन्छ ।

नेपालमा आमाको दूधको सट्टामा बट्टाको दूध वा अन्य दुग्ध पदार्थ बिक्रीवितरण गर्न नपाउने कानुन बनेको छ तर त्यसको कार्यान्वयन हुन सकेको छैन । 

स्तनपान गराउने प्रदेश दुईमा सबैभन्दा कम
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार पहिलो एक घण्टामा स्तनपान गराउनेको संख्या प्रदेश नं २ मा सबैभन्दा कम अर्थात् ४५।३ प्रतिशत छ ।

यसैगरी प्रदेश नं ७ मा सबैभन्दा धेरै ७०।७ प्रतिशत रहेको छ । राष्ट्रसंघीय बालकोष र विश्वस्वास्थ्य संगठनले जारी गरेको प्रतिवेदनले जन्मेको पहिलो घण्टामा स्तनपान गराएका नवजात शिशु जीवित रहने सम्भावना धेरै हुने औँल्याएको छ । 



बिहिबार १६, साउन २०७६ १०:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.