दार्चुला, नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा एक जनाले अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएका छन्। आगलागीमा जलेर उनकी श्रीमतीको मृत्यु भएको छ।
सुण्डमुण्डुका ३२ वर्षीय शेरसिंह बडालले आफ्नै घरमा आगो लगाएका हुन्। उनले घरमा आलो लगाएपछि सामान निकाल्न भित्र गएकी उनका श्रीमती ३० वर्षीया विमला बडालको घरभित्रै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
हिजो राति १२ बजे मदिरा सेवन गरी घर पुगेका शेरले घर परिवारसँग झगडा गरेका थिए। घरमा आएर झगडा गरेपछि पूरै परिवार घर छाडेर जङ्गल भागेको नौगाड गाउँपालिका–२ का वडा सदस्य जयभानसिंह ठगुन्नाले बताए।
घरमा कोही नभएको भन्दै बडालले आफू सुत्ने कोठामा गएर आगो सल्काएका थिए। घरमा आगो बलेको देखेपछि घर छाडेर भागेकाहरु फर्किएका थिए।
आगलागी भएपछि विमला घरभित्रको सामान बाहिर निकाल्न भित्र पसेकी थिइन्। घरभित्रको सामान निकाल्ने क्रममा आगोमा जलेर उनको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताए।
उनका बुवा बहादुर बडाल र आमा मङ्गलीदेवी बडाल आगो निभाउने मान्छे खोज्न गाउँ पसेका थिए। घटनाको अवस्था बुझ्न प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाही घटनास्थल पुगेका छन्।
आगो लगाएर परिवारको हत्या गरेको भए पनि के कति कारणले झैझगडा भयो, आगो लगाउने स्थितिसम्म कसरी पुगे भन्ने अनुसन्धानपछि खुल्ने प्रहरी नायब उपरीक्षक शाहीले बताए।
आगो स्थानीय वासिन्दाले रातभर लगाएर उनलाई नियन्त्रणमा लिएका छन्। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस