काँग्रेस उम्मेदवार नरनारायण शाहद्वारा सचिवालय सञ्चालन

युग संवाददाता     72 पटक पढिएको    

काँग्रेस उम्मेदवार नरनारायण शाहद्वारा सचिवालय सञ्चालन

 

धनगढी । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा कैलाली क्षेत्र नम्बर ५ मा चुनावी चहलपहल बढेको छ । नेपाली काँग्रेसका उम्मेदवार नरनारायण शाह ९मनु० ले प्रचार–प्रसार र निर्वाचन गतिविधिलाई व्यवस्थित बनाउन पार्टी कार्यालयमै सम्पर्क कार्यालय तथा सचिवालय सञ्चालनमा ल्याएका हुन् ।
शुक्रबार हिन्दु परम्पराअनुसार पूजा–पाठ गर्दै सचिवालयको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका संस्थापक नेता विपी कोइरालाको तस्बिरमा माल्यार्पण गरियो भने ब्यानर उद्घाटन र रिबन काटेर कार्यालयको औपचारिक शुभारम्भ गरिएको थियो ।
सचिवालय उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका स्थानीय नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले निर्वाचनमा पार्टीलाई विजयी गराउने प्रतिबद्धता जनाउँदै आगामी दिनमा घरदैलो अभियान र जनसम्पर्कलाई तीव्र बनाउने बताएका छन् ।
उम्मेदवार तथा नेता नरनारायण शाह ९मनु० ले भने – ‘निर्वाचन आचारसंहिता पालना गर्दै सभ्य र अनुशासित तरिकाले प्रचार–प्रसार गर्न म सबै नेता तथा कार्यकर्तालाई अनुरोध गर्न चाहन्छु । अमर्यादित गतिविधि होइन, जनताको विश्वास जित्ने राजनीति हाम्रो लक्ष्य हो ।’


उम्मेदवार शाहले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै सकारात्मक र जिम्मेवार ढंगले चुनावी प्रतिस्पर्धामा उत्रिनुपर्नेमा जोड दिए । उनले पार्टीका लागि आफूले विगतदेखि दिएको योगदानको कदर गरिदिन मतदातासँग आग्रहसमेत गरे ।
शाहले भने –‘मैले पार्टी र क्षेत्रका लागि निरन्तर काम गरेको छु । अहिलेसम्मको राजनीतिक माहोल मेरो पक्षमा देखिन्छ । जनताले दिएको विश्वासलाई आगामी दिनमा इमानदार काम र विकासमार्फत पूरा गर्नेछु ।’
पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूले सचिवालयलाई निर्वाचन अभियानको मुख्य केन्द्रका रूपमा प्रयोग गरिने बताएका छन् । सचिवालयमार्फत चुनावी रणनीति निर्माण, मतदातासँग प्रत्यक्ष संवाद, जनगुनासो संकलन तथा कार्यक्रमहरूको समन्वय गरिने जनाइएको छ । ‘हामी उम्मेदवारज्यूको नेतृत्वमा एकजुट भएर चुनावी अभियानमा लागेका छौं । घरदैलो, टोलस्तरीय भेटघाट र युवालाई केन्द्रमा राखेर प्रचारलाई अगाडि बढाउँछौं ।’
कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन प्रतिस्पर्धा कडा बन्दै गएको छ । विभिन्न राजनीतिक दलहरू आ–आफ्नो पक्षमा मतदाता आकर्षित गर्न सक्रिय देखिएका छन् । यस्तो अवस्थामा नेपाली काँग्रेसले संगठन सुदृढीकरण र जनआधार विस्तारलाई प्राथमिकतामा राखेको देखिन्छ ।
सचिवालय सञ्चालनसँगै नेपाली काँग्रेसले कैलाली क्षेत्र नम्बर ५ मा आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाएको छ । अबको केही दिनमा दलहरूबीचको प्रतिस्पर्धा अझ रोचक हुने देखिन्छ ।



शुक्रबार १०, माघ २०८२ ०९:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal