मेस्सीले राखे इज्जत, हारबाट जोगाए अर्जेन्टिनालाई

Yugnepal     722 पटक पढिएको    

मेस्सीले राखे इज्जत, हारबाट जोगाए अर्जेन्टिनालाई

 

काठमाडौं । अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल प्रवेशका लागि संघर्षरत रहेको छ । पहिलो खेलमा कोलम्बियासंग २–० गोल अन्तरले पराजित भएपछि कमजोर सुरुआत गरेको अर्जेन्टिनाले दोस्रो खेलमा भने हार टारेको छ । 

बिहीबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसंग १–१ गोलको बराबरी खेलेको हो । खेलमा पाराग्वेले ३७ औं मिनेटमा रिचर्ड सान्चेजको गोलमार्फत अग्रता लिएको थियो । 

५७ औं मिनेटमा पेनाल्टी गोलमार्फत गोल गर्दै लियोनल मेस्सीले अर्जेन्टिनालाई बराबरीमा ल्याएका थिए ।  डि बक्सभित्र इभान पेरिसको ह्यान्ड बलमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । 

बराबरीको नतिजाले अर्जेन्टिनाको क्वार्टरफाइनल प्रवेशको सम्भावना कठिन बने पनि असम्भव भने देखिएको छैन । 

समुह बी बाट कोलम्बिया समुह विजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरिसकेको छ । पाराग्वे २ खेलबाट २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । अर्जेन्टिनाले २ खेलबाट मात्र १ अंक जोडेको छ । त्यस्तै समुहको अर्को टिम कतारको पनि १ अंक नै छ । 

अब समुहको अन्तिम चरणका खेल नै महत्वपूर्ण हुनेछन् । अर्जेन्टिनाले कतारसंग खेल्नेछ भने कोलम्बियाले पाराग्वेसंग खेल्नेछ । 

यो खेलमा कोलम्बिया विजयी हुँदा अर्जेन्टिनाले कतारलाई हरायो भने क्वार्टरफाइनलमा पुग्नेछ । कोलम्बिया र पाराग्वेले बराबरी गर्दा समेत यदि अर्जेन्टिना विजयी भए क्वार्टरफाइनलमा पुग्नेछ । 



बिहिबार ०५, असार २०७६ १०:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.