धनगढी । आइतबार रातिदेखिको निरन्तर वर्षाका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीका दर्जनौँ बस्ती डुबानमा परेका छन् । धनगढी उपमहानगरको बजार क्षेत्रका बस्ती सबैभन्दा बढी प्रभावित भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र, शिवनगर, क्याम्पस रोड, रातो पुल, हसनपुर, तारानगर, विशालनगर, शिक्षा टोल, श्रीलंकालगायतका बस्तीका कैयौँ घरमा पानी पसेको छ । कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार धनगढीका मात्रै हजार बढी घरमा पानी पसेको छ । ु
प्रशासन कार्यालयका अनुसार डुबानमा परेर फसेका धनगढी उपमहानगरपालिका– ७, बेलीगाउँका सात जना र धनगढी– १३, श्रीलंकाका चार जना गरी ११ जनाको उद्धार गरिएको छ ।
यस्तै, धनगढीमै रहेको सेती प्रादेशिक अस्पतालमा पनि पानी पसेको छ । अस्पतालले स्वीपर लगाएर पानी फालिरहेको जनाएको छ । यस्तै, प्रदेशको स्थायी राजधानी घोषणा भएको गोदावरीका पनि थुप्रै बस्ती डुबानमा परेका छन् ।
कति पर्यो पानी रु
महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले अत्तरिया क्षेत्रमा पछिल्लो २४ घण्टामा २१२ ।२ मिलिमिटर वर्षा भएको जनाएको छ । त्यस्तै, धनगढी विमानस्थलको मापनमा पछिल्लो २४ घण्टामा २०० मिलिमिटर वर्षा भएको कार्यालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा सबैभन्दा बढी वर्षा कञ्चनपुरको बेलौरीमा २६४ ।६ मिलिमिटर मापन भएको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर सञ्जय शाहले जानकारी दिए ।
किन हुन्छ धनगढीमा डुबान रु
धनगढी उपमहानगर क्षेत्रमा रहेका खोलानालाको जग्गासमेत नगर विकास समितिले बिक्री गरेपछि धनगढीमा डुबानको समस्या निम्तिएको बताइन्छ ।
संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका प्रमुख शिखर लामा तामाङ भन्छन्, ‘डुबानबाट बच्नका लागि सबैभन्दा पहिले पानी निकास हुने बाटो क्लियर हुनुपर्छ । खोलामा कुनै पनि किसिमको अवरोध हुँदा पानी जमेर डुबानको समस्या निम्तिन्छ ।’
पछिल्लो समय निर्माण गरिएका सडकले पनि धनगढीमा डुबानको समस्या बढाएको तर्क तामाङको छ । ‘सडक सबै उच्च भए, बस्ती होचा भए,’ उनले भने, ‘त्यसले पनि डुबानको समस्या निम्त्याएको छ ।’ धनगढीमा पछिल्लो समय बनेको मोहना पुल, अत्तरियाको छ लेन सडक, मुख्य सडक र अन्य भित्री सडकको उचाइ बस्तीभन्दा बढी हुँदा बस्तीमा पानी जम्न थालेको हो ।
धनगढी उपमहानगरपालिकालाई डुबानबाट जोगाउन अहिले ढल निर्माण भइरहेको छ । मोहनापुर–अत्तरिया जोड्ने छ लेन सडकको सर्भिस लेनमा ढल निर्माण भइरहेको हो । संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका अनुसार साढे १३ करोडमा ढल निर्माणका लागि दुई प्याकेजमा काम भइरहेको छ ।
कार्यालयका तामाङका अनुसार मोहनापुलदेखि धनगढीको राजपुरसम्म नाली बनाएर बस्तीको पानी मोहना नदीमा फाल्ने लक्ष्य छ । हुन त यसअघि मोहनापुल–अत्तरिया सडकमा पनि नाली निर्माण भएको छ । तर, उक्त नालीले बस्तीको पानी भने निकास गर्न सकिरहेको छैन । ‘उक्त नाली बाटोको पानी निकासका लागि मात्रै भयो,’ संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका प्रमुख तामाङले भने, ‘त्यो नाली बस्तीभन्दा उचाइमा निर्माण गरिएकाले बस्तीको पानी निकास हुन पाएन । सोही कारण नयाँ नाली निर्माण गर्न थालिएको हो ।’
डुबानको समस्या निराकरणका लागि यसअघि छ लेन सडककै छेउमा प्लास्टिक पाइप पनि विस्तार गरिएको थियो । तर, ती पाइपले समस्या समाधान नभएपछि अहिले निकाल्न थालिएको छ ।
प्रतिकृया दिनुहोस