प्रदेश स्तरीय कृषि तथा पशुपन्छी प्रदर्शनी मेला लाग्दै

युग संवाददाता     16 पटक पढिएको    

प्रदेश स्तरीय कृषि तथा पशुपन्छी प्रदर्शनी मेला लाग्दै

 

धनगढीः कैलालीको धनगढीमा पाँच दिन प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला लाग्ने भएको छ।

सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला तथा प्रदर्शनी गर्ने भएको हो।

धनगढी उपमहानगरपालिका–१ पशुपति टोलको मैदानमा माघ २६ देखि ३० गतेसम्म कृषि तथा पशुपन्छी प्रदर्शनी हुने भाएको छ। सुदूरपश्चिमका ९ जिल्लाका कृषकहरूलाई निःशुल्क स्टल उपलब्ध गराइने छ। प्रदेश सरकारले कृषिमा गरेको लगानीको प्रतिफलको मूल्याङ्कन गर्न र थप सम्भावनाको खोजी गर्न कृषि प्रदर्शनी गरिन लागेको प्रदेश कृषि निर्देशक खगेन्द्रप्रसाद शर्माले बताए। उनले भने, ‘खरिद–बिक्री हुन्छ। रैथाने बालीहरूको पनि बिक्री हुन्छ। स्वाद पनि लिन सक्नु हुनेछ।’ प्रदेश सरकारले कृषि क्षेत्रमा हालसम्म गरेको उपलब्धि देखाउन ३५ लाख खर्च गरेर मेला आयोजना गर्न लागेको हो।

प्रदेश सरकारले केही गरेन भन्ने जनगुनासो सुनिन थालेकाले त्यसलाई चिर्न मेला आयोजना गरिन लागेको कृषि निर्देशक शर्माले बताए। मन्त्रालयमा सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दैै शर्माले भने, ‘माघ २६ देखि ३० गते ५ दिनसम्म कृषि तथा पशुपन्छी मेला गर्न लागिएको छ। प्रदेश सरकारले प्रदान गरेको अनुदान र किसान आफैँले उत्पादन गरेको कृषि उपज प्रदर्शनी राखिने छ।

मेलामा ९ वटै जिल्लामा उत्पादन भएका कृषि उपजको प्रदर्शनी गरिने छ। मेलामा हरेक दिन कृषि सम्बन्धी नवीनतम प्रविधिको विषयमा जानकारी दिइने छ। कृषि विज्ञहरूसँग कृषकलाई राखेर कृषि तथा पशुपन्छी क्षेत्रमा नवीनतम प्रविधि र अनुसन्धान बारे बहस र छलफलसमेत गरिने छ। मेलामा कृषि तथा पशुपन्छी क्षेत्रका उपकरणहरूको प्रदर्शनीसमेत गरिने छ।

मेलाले बजार नपाएको भन्ने किसानको गुनासो र खोजेको कृषि उपज पाइएन भन्ने उपभोक्ताको गुनासोलाई पनि सम्बोधन गर्ने प्रयास गरिने निर्देशक शर्माले बताए। ‘मेलामा एक सय ५० स्टल राखिने र सबै स्टल कृषकलाई निःशुल्क उपलब्ध गराइने छ,’ उनले भने, ‘मेला सञ्चालनका लागि कृषि विकास निर्देशनालयले ३५ लाख बजेट छुट्याएको छ। मेलामा विभिन्न विधाका कृषकलाई पुरस्कृतसमेत गरिने छ।’ सुदूरपश्चिमका रैथाने र अर्गानिक कृषि उपज र खानाको परिकारको समेत मेलाका माध्यमबाट प्रचारप्रसार गरिने उद्देश्य रहेको निर्देशक शर्माले बताए।

मेलाको माध्यमबाट किसान, कृषि उपज, उपभोक्ता र कृषि विज्ञहरूलाई एकै स्थानमा ल्याएर कृषि क्षेत्रको उपलब्धि र सम्भावनाको खोजी गरिने छ। रैथाने कृषि उपजको प्रवर्धन गर्दै उत्पादन र उपभोगसमेत बढाउन मेला सहयोगी हुने ठानिएको छ। मेलामा ३० जना किसानलाई पुरस्कारसमेत पदार्न गरिने छ।



मङ्गलबार २२, माघ २०८१ ०७:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal