२१ मंसिर, धनगढी । कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव शनिबारदेखि हुने भएको छ । प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास एवं विस्तारसँगै कला, संस्कृतिको प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै वाणिज्य संघले महोत्सवको सबै तयारी पूरा भएको जानकारी दिएको हो । धनगढी उपमहानगरपालिका–१ को पशुपति टोलमा सञ्चालन हुने महोत्सवको उद्घाटन समारोह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने महासचिव ओमबहादुर विष्टले जानकारी दिए ।
३ करोडको खर्च अनुमान गरिएको महोत्सवमा उद्योगी व्यवसायीको १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको उनले बताए । उद्योग वाणिज्य संघले २०६३ सालदेखि हरेक वर्ष मंसिर २२ देखि पुस २ गतेसम्म सुदूरपश्चिम महोत्सवको आयोजना गर्दै आएको छ ।
संघका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने नाराका साथ आयोजना भइरहेको महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, गारमेन्ट, इलेक्ट्रोनिक, होटल, सूचना प्रविधी गरेर पाँच ३१ व्यवसायिक स्टल रहने बताए ।
महोत्सवमा सुरक्षाका दृष्टिकोणले सीसीटीभी क्यामेराले निगरानी तथा निरीक्षण गरिनेछ । सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।
जेष्ठ नागरिक र फरक क्षमता भएकालाई भने निःशुल्क प्रवेश दिइनेछ । अध्यक्ष कुँवरले महिलाको आर्थिक, सामाजिक सशक्तिकरणका लागि प्रति टिकट २ रुपैयाँ र प्रति टिकट ५ रुपैयाँ विपद् व्यवस्थापन कोषका लागि लागि छुट्याइने बताए ।
उद्योग वाणिज्य संघले हरेक वर्षको महोत्सवमा सामाजिक क्षेत्रका लागि टिकट बिक्रि वापत प्राप्त हुने बजेटको हिस्सा छुट्याउने गरेको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस