किशोरीको मानवअधिकार प्रवर्द्धनबारे अन्तरक्रिया

युग संवाददाता     69 पटक पढिएको    

किशोरीको मानवअधिकार प्रवर्द्धनबारे अन्तरक्रिया

  धनगढी दलित महिला र किशोरीहरूको मानवअधिकार प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका बारेमा धनगढीमा आज बिहीबार अन्तरक्रिया भएको छ ।
दलित महिला संघ फेडो को आयोजना र एफजेएसको सहयोगमा कैलालीका धनगढी उपमहानगरपालिका र गौरिगंगा नगरपालिकामा “दलित महिला र बालिकाहरूको मानवअधिकार अभिबृद्धि परियोजना लागू भएको छ । सन् २०२३ को मे महिनादेखि २०२६ अप्रिलसम्म यो परियोजना सञ्चालन हुने जनाइएको छ ।

बिहीबार धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा परियोजनाका कैलाली कार्यक्रम संयोजक विनोद घिमिरेले दलित महिला, किशोरी र एकल, असक्षम र यौनिक अल्पसंख्यक तथा मानवअधिकारबाट बढि बञ्चित समुहहरूलाई लक्षित गरी कार्यक्रम लागू भएको जानकारी दिए ।
परियोजनाले सामाजिक न्याय र लैंगिक न्यायमा पहुँच बढाउन र दलित महिला, बालिका र अन्य सिमान्तकृत समुहहरूको मानवअधिकार प्रवर्द्धन गर्न राज्य र गैरराज्य पक्षलाई जवाफदेही र उत्तरदायी बनाउने लक्ष्य राखेको छ ।

त्यस्तै, लक्षित समुहहरूको मानवअधिकार, सामाजिक र लंैगिक न्याय प्रवर्द्धन(संरक्षण गर्न नागरिक शिक्षा, क्षमता निर्माण र नारीवादी अन्तरपुस्ता आन्दोलनलाई सुदृढ गर्ने लक्ष्य राखेको छ । त्यस्तै, सामाजिक परिचालन र आर्थिक सशक्तिकरणमार्फत लक्षित समुहहरको सामाजिक–आर्थिक अधिकारको संरक्षणका साथै सरकारी स्रोत र अवसरहरूमा पहुँच बृद्धि गर्ने लक्ष्य लिएको छ ।

जिल्ला कार्यक्रम संयोजक घिमिरेले परियोजनाअन्तर्गत जनचेतनामुलक अभियान, मुद्दा अनुगमन, विभिन्न तहमा वकालत, नीति समिक्षा, विश्लेषण र बहुसरोकारवालाहरूसँग संवाद, महिला राजनीतिक नेता र दलित महिला जनप्रतिनिधिसँगको संलग्नता, महिला विरुद्धको हिंसा र जातमा आधारित विभेद विरुद्ध नागरिक शिक्षा अभियान सञ्चालन हुने बताए ।

त्यस्तै, परियोजनाअन्तर्गत जातीय विभेद र महिला हिंसाका मुद्दाहरूमा महिला अधिकार रक्षकहरूको विकास, कानुनी सहायता र साक्षरता अभियान, छलफल चौतारी, मिडिया परिचालन, महिला समुहमार्फत सामाजिक–आर्थिक सशक्तिकरण, महिला उद्यमशीलता विकास, नीति, कार्यक्रम र बजेट वकालत अभियान लगायतका गतिविधि पनि सञ्चालन हुने संस्थाले जनाएको छ ।

सो अवसरमा संस्थाले परियोजनामार्फत सन् २०२३ मा गरेका गतिविधि र प्राप्त उपलब्धीहरूबारे समेत जानकारी गराइएको थियो ।
कार्यक्रममा संस्थाका कैलाली अध्यक्ष सविना सुनारले दलित महिला र किशोरीहरूको मानवअधिकार सम्वर्द्धन अभियानमा मिडियाको प्रभावकारी भूमिका रहेको चर्चा गर्दै सामाजिक न्यायको सवालमा सबै पक्षको सहयोग र समन्वयका लागि आग्रह गरिन् । सो अवसरमा नेपाल पत्रकार महासंघ, कैलालीका सचिव प्रेम चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।



बिहिबार ०१, चैत २०८० ०१:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.