एमाले कैलालीको नेतृत्व लिन त्रिपक्षीय भिडन्त, आफ्नो पक्षमा पार्न केन्द्रीय नेतासँग लबिङ

युग संवाददाता     80 पटक पढिएको    

एमाले कैलालीको नेतृत्व लिन त्रिपक्षीय भिडन्त, आफ्नो पक्षमा पार्न केन्द्रीय नेतासँग लबिङ

 

धनगढी । फागुन ६ भोली र ७ गते पर्सी हुने नेकपा एमाले कैलालीको नेतृत्व लिन त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । एमाले कैलालीको नवौं अधिवेशनका लागि मुख्यतया अध्यक्ष पदका लागि दावी गरेका पूर्वप्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गाना,कैलाली कार्यवाहक अध्यक्ष दुर्गा जोशी र सचिव रहेका डेजी पाण्डे बिच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको हो।


उनीहरु नेतृत्व जसोतसो आफ्नो पक्षमा आउने र जित्ने दावी गरिरहेका छन्। केन्द्रीय तहका नेतालाई आफू निकटकालाई जिल्ला अध्यक्ष बनाउन केन्द्रीयहरूबीच रस्साकस्सी चलिरहेको छ। एमालेका तीन केन्द्रीय नेताहरू एमाले केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य दामोदर भण्डारी जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न लबिङमा छन् । केन्द्रीय नेताहरूले आफू निकटलाई प्रतिस्पर्धी खडा गरेका छन् । केन्द्रीय सचिव भट्टले कार्यवाहक अध्यक्ष दुर्गा जोशीलाई च्यापेका छन् । जोशी र भट्टको पहाड घर डोटी नै हो ।

निर्वाचनमा निर्णायक बन्दै आएको डोटी ‘फ्याक्टर’ले जोशीका पक्षमा भोट दिने प्रस्ट छ। भट्टका स्वकीय सचिव हितेस ओझा पनि कैलाली जिल्ला सचिव पदमा दाबेदार छन्। स्थायी कमिटी सदस्य कर्ण थापाले भने कैलाली जिल्ला सचिव डेजी पाण्डेलाई अध्यक्ष बनाउन लबिङ गरिरहेका छन् । थापाको बाजुरा र पाण्डेको पुर्ख्यौली घर अछाम हो । बाजुरेली र अछामी समुदायसँगै कैलालीको पूर्वी क्षेत्रको भोट पाण्डेलाई आउने आकलन गरिएको छ ।


पाण्डे समूहबाट कैलालीका उपसचिव रहेका ममताप्रसाद चौधरी सचिव पदका दाबेदार छन् ।एमाले केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश पूर्वअध्यक्ष दामोदर भण्डारीले भने अध्यक्षका लागि पूर्वप्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गानालाई अघि सारेका छन् । यहाँ बैतडी र अछाम फ्याक्टरले काम गर्ने अनुमान छ । बैतडी घर रहेका भण्डारीले अध्यक्षमा सघाइरहेका ढुङ्गानाको पुर्ख्यौली घर भने अछाम हो ।

उनको टिमबाट सचिव पदमा बैतडी समुदायकै विष्णु चन्द र आनन्दप्रसाद भट्ट आकांक्षी छन् । केन्द्रीय सचिव भट्ट र केन्द्रीय कमिटी सदस्य भण्डारी एमाले महासचिव शंकर पोखरेलसँग निकट छन् भने स्थायी कमिटी सदस्य कर्ण थापा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग निकट छन् । उम्मेदवार र नेताहरूबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको कैलालीमा कसले बाजी मार्छन् त्यसका टुङ्गो भने फागुन ६ र ७ गते सुखडमा हुने नवौं अधिवेशनले लगाउने छ ।

उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा गरी ८ जनाले दाबी गरेका छन् । सचिवमा हितेस ओझा, ममताप्रसाद चौधरी, विष्णु चन्द, कमलबहादुर राना, चूडामणि भट्ट, आनन्दप्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्रबहादुर रावल, द्वारिका न्यौपाने, विष्णुबहादुर चौधरी, वक्तबहादुर शाही र भीष्मराज सुवेदीगरी सचिवमा १२ जनाले उम्मेदवारी दिने तयारीमा छन् । २ पदको उपसचिवमा ३० जनाले दाबी गरेका छन् । उपसचिवका लागि धिमलाल जोशी, राजु गुरुङ, चक्रबहादुर विष्ट, नौरता देवी खड्का, मदन राज रेग्मी, टीकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदारप्रसाद ओझा, अम्बिका विष्ट मल्ल, भुवन रिजाल, निर्मला संज्याल, किशोर शाह, लक्ष्मी केसी, गणेशबहादुर साउद, मोहन विक, ध्रुवबहादुर भण्डारीले दाबी गरेका छन् ।

त्यस्तै खगेन्द्रकुमार ठकुल्ला, जगत बोहरा, ध्रुव खत्री, नेत्रप्रसाद खनाल, कमला कुँवर, गृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भुल, गोविन्द कोइराला, रत्ना कुँवर गणेश बुढा र सुरज परियारले पनि उपसचिवमा इच्छा देखाएका छन् । आकांक्षीहरू धेरै देखिँदा सर्वसम्मत पदाधिकारी चयन हुने सम्भावना क्षीण बनेको छ । तर, सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयास भने भइरहेको नेताहरू बताउँछन् । एमाले पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेशसिंह ठगुन्ना सहमतिमै नेतृत्व चयन गर्न प्रयास भइरहेको बताउँछन् । ‘सकेसम्म प्रतिस्पर्धा नगराउने हाम्रो चाहना हो । त्यसैले नै अधिवेशनअगावै आकांक्षीबाट इच्छा पत्र मागेका हौं,’ उनले भने, ‘आकांक्षीहरू स्पष्ट देखिएका छन् । हामी सहमतिका लागी छलफल गर्दै छौं ।’

स्वयं उम्मेदवारहरू भने सहमतिबाट नेतृत्व चयन हुने सम्भावना नभएको बताउँछन् । अध्यक्षका दाबेदार यज्ञराज ढुङ्गाना भन्छन्, ‘के आधारमा सहमति गर्ने रु अहिलेको नेतृत्वमा रहेका पदाधीकारीहरूले कैलाली जिल्लामा एमालेलाई ध्वस्त बनाएका छन् । कमजोर नेतृत्वकै कारण २०७९ को निर्वाचनमा एमालेले विरासत गुमाएको छ । अहिलेको नेतृत्वबाट पार्टी बलियो हुन सक्दैन । गुमेको विरासत जोगाउन मैले नै नेतृत्व गर्नु पर्छ ।’ कार्यकर्ता र प्रतिनिधीहरूकै इच्छा बमोजिम अध्यक्षमा दाबी गरेकोले विजय निश्चित रहेको ढुङ्गानाको दाबी छ । एमाले कैलालीका कार्यवाहक अध्यक्ष एवं अध्यक्ष पदका आकाक्षी दुर्गाप्रसाद जोशीले पनि सङ्गठनलाई मजबुत बनाउन नेतृत्व गर्न तयार रहेको बताए । ‘तत्कालीन अध्यक्षले राजीनामा दिएपछि विषम परिस्थितिमा जिल्लाको नेतृत्व मैले सम्हालेको हो । मैले नेतृत्व गरेपछि पार्टीलाई नगरबाटै बलियो बनाउँदै लगेको छु,’ उनले भने, ‘कैलालीमा एमालेलाई पहिलो पार्टी बनाउन फेरि एक पटक मैले नै नेतृत्व गर्नुपर्छ ।’

एमाले कैलाली सचिव डेजी पाण्डे पनि नवौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा आफ्नो जीत निश्चित रहेको दाबी गर्छन्। ‘प्रतिकूल समयमा पनि सिङ्गो गठबन्धनसँग प्रतिस्पर्धा गरेर कैलालीका–२ पालिकामा जीत निकालेका छौं । जनता र कार्यकर्ताको भावनाअनुसार काम गर्न सक्छु। उहाँहरूको राम्रो साथ छ । सकेसम्म मैरै नाममा सहमति हुन्छ। नभए पनि मैले चुनाव जित्छु,’ पाण्डेले भने । अधिवेशनका लागी १५० सदस्यीय कमिटी बनाइएको छ भने ५६० जना प्रतिनिधि छनोट भइसकेका छन् । कैलालीको सुखडमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यतालिका रहेको छ।लोकान्तरबाट



आइतबार ०६, फागुन २०८० ०६:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.