बैतडीको समग्र विकासका लागि आफू लागिपरेको छु -मन्त्री भण्डारी

युग संवाददाता     110 पटक पढिएको    

बैतडीको समग्र विकासका लागि आफू लागिपरेको छु -मन्त्री भण्डारी

 


धनगढी । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लिपुलेक व्यापारिक मार्ग बनाउने भारत–चीनको सहमतिप्रति नेपालको आपत्ति रहेको बताए ।

आज गृह जिल्ला बैतडीको मेलौलीमा गौरापर्वको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाटका क्रममा मन्त्री भण्डारीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा आपत्ति रहेको बताए ।


“नेपालसँग कुनै परामर्श नगरी नेपाली भूमिमा व्यापारिक मार्ग बनाउने कुराको बारेमा कूटनीतिक रुपमा कुरा भइरहेको छ”, उनले भने “नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा आपत्ति छ । यो विषयमा चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा पनि राख्नुभएको छ । यो विषयमा चीनले सहयोग गर्ने कुरामा विश्वास छ ।”


चीन भ्रमणपश्चात् प्रधानमन्त्रीको भारत भ्रमण पनि रहने र भारतमा पनि यो विषय प्राथमिकतामा रहने भण्डारीले बताए । त्यस्तै उनलेभारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्ने तयारी भएको बताए ।

उनले भने , “एकीकृत महाकाली सन्धि, पञ्चेश्वर परियोजनाका बारेमा प्रधानमन्त्रीले कुरा राख्नुभएको छ । सम्भवत यो वर्ष सन्धिलाई कार्यान्वयन गरेर अगाडि बढ्नेछौँ । जसका लागि भारतकोे पनि सहमति आवश्यक पर्दछ ।” दोधारा चाँदनी सुक्खा बन्दरगाह, महाकाली करिडोरलगातयका विषय पनि प्राथमिकतामा रहेको मन्त्री भण्डारीले बताए ।

यसका साथै उनले बैतडीको समग्र विकासका लागि आफू लागिपरेको बताए । उनले भने , “बैतडीको विकासका लागि थुप्रै बजेट हुने गरेको भए पनि कार्यान्वयनमा समस्या हुँदै आएको छ । ठेकेदारले समयमै काम नगर्ने, स्थानीयबीचको विवादलगायतले समस्या देखिएको छ । यो समस्या समाधान स्थानीयस्तरबाटै गर्नुपर्छ ।” रासस



आइतबार १५, भदौ २०८२ १०:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal