काठमाडौ प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तिञ्जिनमा द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटमा दुई नेताले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनले दिँदै आएको सहयोगप्रति धन्यवाद दिँदै नेपाललाई शाङ्घाई सहयोग संगठन एससियोको सदस्यता दिलाउन समर्थन मागेका छन्। उनले लिपुलेकमार्ग हुँदै भारत–चीनबीच भएको व्यापार सम्झौताप्रति आपत्ति जनाउँदै सो भूभाग नेपालको भएको पुनः स्पष्ट पारेका छन्।
चीनका राष्ट्रपति सीसँग भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले लिपुलेक नेपालको भूभाग भएको भन्दै नेपाललाई बाइपास गरेर भएको सहमति अस्वीकार्य भएको बताए ।
उनले नेपालको भूमिसम्मान र सीमा सार्वभौमिकतामा कुनै सम्झौता हुन नसक्ने भन्दै भारत–चीनबीचको बुझाइबारे आपत्ति पत्रसमेत दर्ता भएको जानकारी गराएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।
प्रधानमन्त्री ओलीले चीनसँग नेपालको सम्बन्ध ऐतिहासिक विश्वास र पाँच सिद्धान्तमा आधारित शान्तिपूर्ण सहअस्तित्वमा रहेको उल्लेख गर्दै विकासका क्षेत्रमा चीनको सहयोगको प्रशंसा गरे।
तर, लिपुलेक मुद्दामा नेपालको प्रष्ट धारणा कायम रहेको र नेपाल आफ्नो सीमा हक र हीतमा अडिग रहने बताए। यसअघि भारत र चीनबीच भएको सहमति अनुसार लिपुलेक मार्गलाई व्यापारिक आवागमनका लागि प्रयोग गर्ने निर्णय भएको थियो।
सो कदमले नेपालमा सबै तहबाट चर्को आलोचना भएको छ। नेपालले निरन्तर लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र आफ्नो भूभाग भएको दाबी गर्दै नक्सा ससमेत जारी गरेको छ ।
राष्ट्रपति सीले नेपाललाई समृद्ध नेपाल–सुखी नेपालीको लक्ष्य पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बेल्ट एण्ड रोड परियोजना वीआरआइ कार्यान्वयनमा निरन्तर सहयोग गर्ने बताए।
प्रधानमन्त्री ओलीलाई तिञ्जिन विमानस्थलमा चिनियाँ उच्च अधिकारीहरूले न्यानो स्वागत गरेका थिए। उनी भोलि एससियो शिखर सम्मेलनमा सहभागी हुने र विभिन्न विश्व नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रतिकृया दिनुहोस