नेपाल २८६ रनको चुनौती पछ्याउँदै, अनिलको आक्रामक ब्याटिङ

युग संवाददाता     140 पटक पढिएको    

नेपाल २८६ रनको चुनौती पछ्याउँदै, अनिलको आक्रामक ब्याटिङ

 

काठमाडौँ । नेपालले क्यानडा विरूद्धको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट श्रृंखला अन्तर्गत अहिले दोस्रो खेल खेलिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले २८६ रनको चुनौती पछ्याइरहेको छ । 

सो क्रममा ओपनिङ ब्याट्सम्यान अनिल साहले आक्रामक ब्याटिङ गरेका छन् । उनी २० बलमा ३ छक्का र ७ चौकाको मद्धतले ५० रन बनाएर आउट भए । 

नेपालले ७ ओभर खेल्दा २ विकेट गुमाएर ६४ रन बनाएको छ । 

यसअघि क्यानडाले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २८५ रन बनायो । आरोन जोन्सनले ६५ रन बनाएको इनिङ्समा कुशल मल्ल र रोहित पौडेलले २–२ विकेट लिए । डेब्यु खेलाडी आकाश चन्दले पहिलो विकेट लिए ।

यो खेल जित्दै नेपालले तीन खेलको श्रृंखलामा २–० को अग्रता लिन चाहन्छ । पहिलो पटक क्यानडासँग एक दिवसीय श्रृंखला खेलिरहेको नेपालको मनोबल उच्च छ । 

यसअघि नेपालले क्यानडा विरुद्धको पहिलो खेलमा सनसनीपूर्ण प्रदर्शन गरेको थियो । 

पहिलो खेलको नतिजा 
नेपालले क्यानडालाई ७ रनले हरायो । नेपाललाई जिताउन कप्तान रोहित पौडेल एक्लैले ४ विकेट लिए । 

२२५ रनको चुनौती लिएर मैदानमा उत्रिएको क्यानडाले ४७।५ ओभरमा अलआउट हुँदै २१७ रन बनायो । 

जित नजिक पुगेर पनि पछिल्लो ४३ रन जोड्न क्यानडाले ७ विकेट गुमाएपछि हारको सामना गर्नुपरेको हो । क्यानडाले ३२।५ ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाइसकेको थियो । 

निकोलस किर्टनले ६८, पार्गत सिंहले ५० तथा हर्ष थाकेरले ३२ रन बनाएका थिए । स्पिनरहरु चम्किएको खेलमा रोहितले ८।५ ओभर बलिङ गर्दै २ मेडन राख्दै २२ रनमात्र खर्चेका थिए । 

त्यस्तै ललित राजबंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले १–१ विकेट लिए ।

यसअघि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा बिहान टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर निर्धारित ५० ओभरमा २२४ रन बनायो । 

ओपनर कुशल भुर्तेलले ५८ बलमा सर्वाधिक ६२ रन जोडे । त्यस्तै आरिफ शेखले ५० बलमा ३८ तथा सोमपाल कामीले २३ बलमा दुई छक्काको मद्धतले २७ रन बनाए । 

त्यस्तै कुशल मल्लले ३२ बलमा २०, भिम शार्कीले २६ बलमा १७, पवन सर्राफले ३४ बलमा १५ तथा सूर्य तामाङले ३२ बलमा अविजित रहँदै १० रन जोडे । अन्य चार खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । 

क्यानडाका लागि उदय भगवानले ३ विकेट लिए । नेपालको यो क्यानडाविरुद्ध पहिलो एक दिवसीयको जित हो । 

सन् २०१८ मा पहिलो पटक एक दिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक औपचारिक एक दिवसीय श्रृंखला खेलिरहेको हो । 

नेपालको प्रशिक्षण मोन्टि देसाईले गरेका छन् भने क्यानडाको प्रशिक्षण नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले गरेका छन् । 

क्यानडा तीन खेलको एक दिवसीय श्रृंखला खेल्न नेपाल आएको हो । यो खेललाई विश्व लिग–२ को तयारी स्वरुप लिइएको छ ।



शनिबार २७, माघ २०८० १०:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.