लगातार दोस्रो उपाधिको प्रमुख दावेदार बन्यो गुजरात

युग संवाददाता     140 पटक पढिएको    

लगातार दोस्रो उपाधिको प्रमुख दावेदार बन्यो गुजरात


काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–२० क्रिकेटमा गुजरात टाइटान्स लगातार दोस्रो उपाधि जितको प्रमुख दावेदार बनेको छ । पछिल्लो खेलमा राजस्थान रोयल्समाथि शानदार जितसहित गुजरातले शीर्ष स्थानलाई अझ मजबुद बनाएको हो । 

जयपुरमा भएको खेलमा पहिले ब्याटिङ गरेको राजस्थानले यो सिजनकै सबैभन्दा कम ११८ रन बनायो । १७।५ ओभरमात्र क्रिजमा टिकेको राजस्थानका लागि चार खेलाडीले मात्र दोहोरो स्कोर खडा गरेकामा कप्तान सन्जु सामसनले २० बलमा सर्वाधिक ३० रन बनाए । 

गुजरातका राशिद खानले ३, नुर अमदले २ तथा मोहम्मद शामी, हार्दिक पाण्डेया र जोश लिटिले १–१ विकेट लिए । 

जवाफमा गुजरातले १३।५ ओभरमै १ विकेटको क्षतिमा जित हासिल गर्यो । ऋद्धिमान साहाले ३४ बलमा अविजित रहँदै ४१ रन जोडे । कप्तान हार्दिक पाण्डेयाले १५ बलमा अविजित रहँदै ३९ रन बनाए । त्यस्तै शुबमन गिलले ३५ बलमा ३६ रन जोडे । 

अंक तालिका 
१० खेलबाट १४ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १० खेलबाट लखनउ सुपर जाइन्टस र चेन्नई सुपर किंग्सको ११ अंक छ । 

राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंगलोर, मुम्बई इन्डियन्स र पञ्जाब किंग्सको समान १० अंक छ ।   

कोलकाता नाइट राइडर्स १० खेलबाट ८ अंकसहित आठौं स्थानमा छ । सनराइजर्स हैदराबाद र पुछारको दिल्ली क्यापिटल्सको ६ अंक छ ।  

आजका खेल
आज दुई खेल हुँदैछन् । दिउँसो ३ः४५ बजे चेन्नई र मुम्बई चेन्नईमा खेल्दैछन् । बेलुकी ७ः४५ बजे दिल्ली र बेंगलोर दिल्लीमा खेल्दैछन् । 

१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् । 



शनिबार २३, बैशाख २०८० ०१:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.