प्रधानमन्त्री कपको सेमिफाइनल समीकरण पूरा

युग संवाददाता     219 पटक पढिएको    

प्रधानमन्त्री कपको सेमिफाइनल समीकरण पूरा

काठमाडौँ । आर्मीले कर्णाली प्रदेशलाई पराजित गरेसँगै प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अब सेमिफाइनलमा आर्मीले अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्दा एपीएफले मधेस प्रदेशसँग खेल्नेछ ।

मूलपानी क्रिकेट मैदानमा समूह ‘ए’ को अन्तिम खेलमा मंगलबार आर्मीले कर्णाली प्रदेशलाई १४० रनले पराजित गरेको छ । २५५ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको कर्णाली प्रदेशले २८.३ ओभरमा सबै विकेटको क्षतिमा ११४ रन मात्रै बनाउन सक्यो । कर्णालीका लागि विपिन रावलले ४८ रन बनाए । बलिङतर्फ आर्मीका रोहित कुमार पौडेलले तीन विकेट लिँदा शाहब आलम र हरि चौहानले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले ३७, कुशल मल्ल र रोहित कुमार पौडेलले समान ३५–३५, हरि चौहानले ३१, भीम शार्कीले २९, राजेश पुलामी मगरले अविजित २८, अर्जुन साउदले २० र अनिल मण्डलले १७ रन बनाए । बलिङतर्फ कर्णालीका प्रकाश जैशीले तीन र दीपेन्द्र रावतले दुई विकेट लिए ।

समूह ‘ए’ बाट एपीएफ विजेता हुँदा आर्मी उपविजेता बनेको हो । एपीएफले चार खेलबाट सात अंक बनायो । उपविजेता बनेको आर्मीले चार खेलबाट ६ अंक बनाएको हो । तेस्रो स्थानमा रहेको गण्डकी प्रदेशको चार खेलबाट पाँच अंक, चौथो स्थानमा रहेको सुदूरपश्चिम प्रदेशको चार खेलबाट दुई अंक हुँदा कर्णाली प्रदेशले भने चार खेलमा सबै खेल हार्‍यो । 

त्यस्तै, समूह ‘बी’ बाट नेपाल पुलिस क्लबले सबै खेलमा जित निकाल्दै आठ अंक बनाउँदै समूह विजेता बनेको हो । उपविजेता बनेको मधेस प्रदेशले चार खेलबाट पाँच अंक बनायो । तेस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशले चार खेलबाट चार अंक, चौथो स्थानमा रहेको प्रदेश १ ले चार खेलबाट दुई अंक र पुछारमा रहेको बागमती प्रदेशले चार खेलबाट एक अंक बनाउँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।



मङ्गलबार २२, कार्तिक २०७९ ०३:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.