थप २२ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति

युग संवाददाता     125 पटक पढिएको    

थप २२ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति

काठमाडौं / चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिए ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको बिजुली निर्यातका लागि यही कात्तिक १४ गते अनुमति प्राप्त भएको हो । चिलिमेको अनुमतिसँगै अब दैनिक तीन सय ८६ मेगावाट बिजुली भारत निर्यात हुने प्रवक्ता भट्टराईले जानकारी दिए । गत असोज २५ गतेसम्म भारतर्फको विद्युत् निर्यात एक अर्ब युनिट नाघेको प्राधिकरणले जनाएको थियो ।

त्यसपछिको विवरण पनि आउने क्रममा छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका प्रस्ताव यसअघि नै गरेको थियो ।

निजी क्षेत्रले निर्माण गरेका २९ मेगावाट क्षमताको लिखूखोला ए, २५ मेगावाट क्षमताको काबेली बी–एक, २२ मेगावाटको माईखोला, १५ मेगावाट क्षमताको हेवाखोला ए, र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत्गृहबाट उत्पादित एक सय मेगावाट क्षमताको विद्युत निर्यातको प्रस्ताव गरिएको थियो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी त्यस अवधिमा रु सात अर्ब ९३ करोड २२ लाख खुद आम्दानी भएको थियो । निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य सात रुपैयाँ ९१ पैसा रहेको छ । 



बिहिबार १७, कार्तिक २०७९ ०२:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.