शताब्दी पुरुष सत्यमोहन जाेशीकाे निधन

युग संवाददाता     277 पटक पढिएको    

शताब्दी पुरुष   सत्यमोहन जाेशीकाे निधन

काठमाडाैँ / शताब्दी पुरुष सत्यमोहन जोशी अब हामीमाझ रहेनन् । आज बिहान उनकाे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । १०३ वर्षका जोशी केही दिनदेखि ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत थिए ।

जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए । उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण रहेको बताइएकाे थियो । डेङ्गु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण समेत बढेकाे थियाे । साथै मुटुको चालसम्बन्धी समस्या पनि देखिएको थियो । अवस्था जटिल भएपछि अक्सिजन कमी भएर उनलाई सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको थियो ।

उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । उपचारकै सिलसिलामा जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा मृत्यु भएकाे हाे ।

नेपाली संस्कृतिविदका रूपमा तथा साहित्यकारका विख्यात जाेशी पिता शंकर जोशी र माता राजकुमारीको जोशीका जेठा छोरा हुन् । वि. सं. १९७७ साल वैशाख ३० गते ललितपुरस्थित बखुम्बहालमा भएकाे थियाे । उनले त्रिचन्द्र कलेजबाट बि.ए. सम्म अध्ययन गरेका थिए। उनले वि. सं. २०१३ सालमा पहिलाेपटक मदन पुरस्कार प्राप्त गरेका थिए ।

तीनपटक मदन पुरस्कार पाउने जोशी एक्ला नेपाली हुन् । उनले ‘हाम्रो लोक संस्कृति’का लागि पहिलोपटक वि. सं. २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थका लागि दोस्रोपटक वि. सं. २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ नामक ग्रन्थका लागि संयुक्त रूपमा तेस्रोपटक वि. सं. २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए । पछि एकभन्दा बढी पटक एकैजनालाइ मदन पुरस्कार दिन बन्द गरिएकाे थियाे ।

जोशी वि. सं. २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक समेत भएका थिए । वि. सं. २०१६ सालमा पाँचौँ शताब्दीदेखि बिसौँ शताब्दीसम्मको मुद्राको विस्तृत विवरण सहितको नेपाली मुद्रा नामक पुस्तक प्रकाशित गरे ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र लगायत दजर्नाैँ पुरस्कार सम्मान प्रदान गरिएकाे थियाे । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीप पदक दिएर समेत सम्मानित गरेको थियाे ।

स्व. जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १० वटा, नाटक ५ वटा, काव्य २ वटा र कथा सङ्ग्रह ५ वटा प्रकाशित छन् । उनले केही कृति नेवारी भाषामा समेत प्रकाशित गरेका छन् ।



आइतबार ३०, असोज २०७९ ०४:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.