खप्तड गोल्डकपको उपाधि मनाङलाई

युग संवाददाता     1440 पटक पढिएको    

खप्तड गोल्डकपको उपाधि मनाङलाई

 

धनगढी– मनाङ मर्स्याङ्दी क्लबले पाँचौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङ च्याम्पियन बनेको हो। मनाङले दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जितेको हो।

मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक–एक गोल गरे। फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोइसले एक गोल फर्काए।

खेलको २२ औं मिनेटमा दिनेशले फ्रि–किकबाट गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसअघि १९ औं मिनेटमा फ्रेन्ड्सका जमोउलले पेनाल्टीमा गोल गर्न सकेनन्।

उनको प्रहार मनाङका गोलकिपर विशाल सुनारले बचाए। तर, ५१ औं मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए।

खेलको ७२ औँ मिनेटमा आफिजले गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए। खेलको ८६ औँ मिनेटमा मनाङका रुपेश केसी र फ्रेन्ड्सका श्यामबाबु क्याप्छाकीले रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा समेटिएका थिए। त्यसपछि खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै मनाङलाई ३–१ को जित दिलाए।

उपाधिसँगै मनाङले २१ लाख नगद प्राप्त गरेको छ। उपविजेता बनेको फ्रेन्ड्सले १० लाख नगद प्राप्त गरेको छ। सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो।



आइतबार २९, फागुन २०७८ ०७:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal