बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

युग संवाददाता     913 पटक पढिएको    

बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

 

धनगढी असोज १९ । दसैँ, तिहारलाई लक्षित गरी धनगढी बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले मंगलबार धनगढी उपमहानगरपालिका–४ स्थित बसपार्कमा संयुक्त रूपमा यात्रु सहायता कक्ष स्थापना गरेको हो।

दसैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

विजया दशमी, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै स्वदेश तथा विदेशमा रहेका नागरिकहरूको आवागमनमा सहज एवं उनीहरुको पिरमार्का बुझ्नलाई यात्रु सहायता कक्षले सहयोग गर्ने अपेक्षा लिइएको छ।

भाडामा यात्रु ठगिने, सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु राख्ने जस्ता कार्य निरुत्साहित गर्न र यात्रुलाई समस्या परेका खण्डमा सहायता गर्न यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले जानकारी दिए । उनका अनुसार आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता कुराहरू यात्रुहरूले सहायता कक्षमा सोध्न सक्नेछन्।



बुधबार २०, असोज २०७८ १२:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal