प्रदेशमै आवश्यक जनशक्ति र उपकरणको कमी

Yugnepal     996 पटक पढिएको    

प्रदेशमै आवश्यक जनशक्ति र उपकरणको कमी

धनगढी । सुदूरपश्चिम प्रदेशको कैलालीमा तीन र कञ्चनपुरमा एक गरि चार जना कोरोना संक्रमित देखिइसकेका छन् । संक्रमित चारै जनाको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले चारै जना बिरामीकोे अवस्था सामान्य रहेको जनाएको छ ।

सरकारले सेती प्रादेशिक अस्पताललाई कोरोना डेडिकेटेड अस्पतालमा रुपान्तरण गरेको छ । तर, अस्पताल भने समस्या नै समस्यामा बल्झिएको छ । प्रदेशमा कोरोना संक्रमणले गम्भीर रूप लिएको अवस्थामा बिरामी राख्न अस्पतालमा पर्याप्त मात्रामा आइसियू र भेन्टिलेटर छैनन् ।  भने आवश्यकता अनुसारको जनशक्ति पनि छैन ।
हाल सेती प्रादेशिक अस्पतालमा पाँच बेड रहेको सघन उपचार कक्ष आइसीयु र एउटा भेन्टिलेटर मात्र रहेको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै अस्पतालमा २३ वटा आइसोलेसन वार्ड बनाइएका छन् । अस्पतालका डाक्टर जगदिश जोशीले संक्रमण फैलिएको अवस्थामा यो तयारी पर्याप्त नरहेको बताए । उनले भने– अहिलेलाई पर्याप्त भए पनि संक्रमण फैलिएको अवस्थामा भने भेन्टिलेटर, आइसियू र आइसोलेसन वार्डहरू थप्नुपर्ने हुन्छ ।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले भने– अहिले हामीसँग एउटा मात्रै भेन्टिलेटर छ । अब तत्काल दुईवटा किन्ने तयारी भइरहेको छ ।

सेती प्रादेशिक अस्पतालमा तीन जना कन्सल्ट्यान्ट फिजिसियन र क्रिटिकल कन्सल्ट्यान्ट फिजिसियन रहेका छन् । ११ औं तहका ३० जना चिकित्सकको दरबन्दी भए पनि हाल १४ जना मात्रै कार्यरत रहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।

हाल सेती प्रादेशिक अस्पतालमा फिजिसियन, स्त्रीरोग विशेषज्ञ र मेडिकल सुपरिटेन्डेन्टको पद रिक्त रहेको छ । हाल बाल रोग विशेषज्ञ हेमराज पाण्डेयले मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी सम्हालिरहेका छन् ।

‘हामीकहाँ पहिलेदेखि नै चिकित्सकको अभाव थियो । त्यसैमाथि कोरोनाको परीक्षण र उपचार हुँदा थप समस्या परेको छ’ सूचना अधिकारी श्रेष्ठले भने– उपकरण पठाएको सरकारले चिकित्सक नपठाउँदा हामीलाई कठिनाई भएको छ ।

चैत १४ गते दुवइबाट फर्किएका धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय युवकमा कोरोनाको संक्रमण रहेको पुष्टी भयो । युवकमा कोरोना पुष्टी भएपछि उपचारमा संलग्न चिकित्सकहरू नजिक जान पनि डराए । कारण थियो– पर्सनल प्रोटेक्टिभ इक्यूपमेण्ट पीपीई  अभाव । समयमै सरकारले चिकित्सकलाई आवश्यक सामग्री उपलब्ध नगराउँदा उनीहरू जिम्मेवारीबाट पन्छिनुपरेको थियो । अहिले संघीय सरकारले सामाग्री उपलब्ध गराए पनि अझैं पर्याप्त नभएको चिकित्सकहरू बताउँछन ।

प्रदेशमै आवश्यक जनशक्ति र उपकरणको कमी
नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा २८ लाख बढी जनसंख्या रहेको २०६८ सालको जनगणनामा उल्लेख छ । प्रदेशमा कोरोनाको संक्रमण फैलिए आवश्यक भेन्टीलेटर र आइसियू यहाँस्थित सरकारी तथा नीजि अस्पतालमा छैनन । सुदूरपश्चिममा सरकारी र निजी अस्पतालमा गरी २५ बेड आइसियू र १० वटा भेन्टिलेटर रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशको महाकाली अस्पतालमा चार बेड तथा धनगढीको निजी अस्पताल नवजीवन र माया मेट्रोमा पाँच–पाँच तथा निसर्ग अस्पतालमा छ बेडको आइसियू छन । सेती र महाकाली अस्पताल तथा दार्चुला र डडेल्धुरा जिल्ला अस्पतालमा एक–एक भेन्टिलेटर रहेको मेडिकल अधिकृत भूषण मिश्रले जानकारी दिए । उनले बाँकी छ वटा भेन्टिलेटर निजी अस्पतालमा रहेका बताए ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर पाण्डेले प्रदेशमा २५ वटा आइसियू र १० वटा भेन्टिलेटर हात्तीको मुखमा जिरा जस्तै भएको बताए । ‘अहिले नै उपकरण र जनशक्तिको न्यूनतम तयारी नगरे संक्रमण फैलिएको अवस्थामा हुने परिस्थितिको कल्पना पनि गर्न सकिन्न’ डाक्टर पाण्डेयले भने– तर पूर्वतयारी नै भएको देखिँदैन ।

प्रदेशमा चिकित्सकीय जनशक्ति र औषधिउपकरण तथा सामग्रीको पनि अभाव छ । प्रदेशमा उपचारमा खटिने कन्सल्ट्यान्ट फिजिसियन, क्रिटिकल केयर फिजिसियनको संख्या प्रदेशभरिका सरकारी अस्पतालमा नौ मात्र रहेको छ । त्यस्तै, मेडिकल अफिसर ५९ जना, स्टाफ नर्स एक सय ५२ जना, अनमि ८७ जना र ल्याब टेक्नेसियन ५३ जना रहेका मेडिकल अधिकृत मिश्रले जानकारी दिए ।

प्रदेशको महाकाली अस्पतालमा ११ औं तहको मेडिकल सुपरिन्टेन्डेन्ट हुनुपर्नेमा नवौं तहका स्त्रीरोग विशेषज्ञ डाक्टर हरि श्रेष्ठले निमित्त भएर चलाइरहेका छन् । प्रदेशभित्र सञ्चालित १४ सरकारी अस्पतालमा एक सय ३४ जनाको दरबन्दी छ । तर, हाल पदपुर्ति ४१ मात्रै छ । स्थानीय तह र अन्य निकायहरूले वैकल्पिक श्रोतको व्यवस्था गरी ५८ चिकित्सक करारमा राखेका छन् । प्रदेशभित्रका सरकारी अस्पतालहरूमा एक सय २९ स्टाफ नर्सको दरबन्दी छ । तर, ४१ प्रतिशत रिक्त छन् । करारमा ४९ जना स्टाफ नर्स भर्ना गरिएको छ ।

छुट्टै कोरोना उपचार अस्पताल आवश्यक– चिकित्सकहरू
कोरोना अस्पताल बनाउने निर्णयसंगै सुदूरपश्चिमका हरेक जिल्लाका संक्रमितको उपचार सेती प्रादेशिक अस्पतालमा हुन थालेपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकहरू सन्त्रासमा छन् ।

उनीहरूले सेती प्रादेशिक अस्पताललाई कोरोना अस्पताल बनाउदा अन्य बिरामी र स्वास्थ्यकर्मीहरू अत्यन्त जोखिममा पर्ने भएकोले कोरोना बिरामीहरूको उपचार अन्यत्र गर्न आग्रह गरेका छन् । सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले कोरोना संक्रमितहरूको उपचारको लागि छुट्टै संरचना र स्थान तोकिने पर्ने प्रतिक्रिया दिइरहेका छन ।

सेती अस्पतालका चिकित्सक डाक्टर जगदिश जोशीले भने– या त सरकारले कोरोनाको उपचारका लागि अलग्गै अस्पतालको व्यवस्था गर्नुपर्यो, होइन भने सेती अस्पतालमा आउने नियमित र आकस्मिक विरामीहरूको उपचारको तुरुन्त विकल्प खोज्नुपर्यो ।

सेती प्रादेशिक अस्पतालका ईमर्जेन्सी कक्ष ईञ्चार्ज सिनियर अहेव कृष्ण बहादुर बोहराले आफ्नो फेसबुक वालमा स्टाट्स लेखे– सेती प्रादेशिक अस्पताललाई डेडिकेटेड कोरोना अस्पतालमा रुपान्तरण गरिएको हो भने नियमित र आकस्मिक बिरामीहरूको उपचारको तुरुन्त बिकल्प खोजौ ।

अस्पतालमा कार्यरत प्रसुती तथा स्त्री रोग बिशेषज्ञ डाक्टर प्रतिक्षा सिंह राठौरले आफ्नो फेसबुक वालमा प्रश्न गरेकी छिन्– कोरोनाको कहर बीच हामी जुधेउ । सुदूरपश्चिमको एक मात्र रेफरल सेन्टरको रूपमा रहेको सेती प्रादेशिक अस्पताल जुन अब कोरोना अस्पताल बनाउनु पर्छ भन्नेहरूलाई मेरो प्रश्न । कोरोनाको कहर त छदै छ, तर यी निर्दोष आमाहरूलाई बचाउने जिम्मा कसको 

नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश शाखाका सचिव डाक्टर प्रदीप मिश्रले अन्य बिरामीहरूसंगै संक्रमितहरूको समेत उपचार शुरु गरेपछि सेती प्रादेशिक अस्पतालका बिरामी र स्वास्थ्यकर्मीहरू जोखिममा परेको बताए ।

‘सेती प्रादेशिक अस्पतालमा जति सुबिधा र साधन, स्रोतहरू छन, त्यो अन्यत्र छैन’ डाक्टर मिश्रले भने– यो सबै स्रोत यहाँ छोडेर अन्य नियमित रुपमा आउने बिरामी, गर्भवती महिलाको उपचार अन्यत्र गर्न संभव छैन । त्यसैले कोरोनाको छुट्टै उपचार केन्द्र हुनुपर्छ ।

अहिले सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचार हुन लागेपछि अन्य विरामीहरू उपचारका लागि न्यून गइरहेका छन । धनगढीमै एक नीजि अस्पताल सञ्चालन गरिरहेका सञ्चालकले भने– सेतीमा अन्य विरामी उपचार गर्न जान मानिरहेका छैनन । यस्तो बेलामा नीजि अस्पतालहरूले पनि सेवा सहज रुपमा दिइरहेका छैनन ।

संक्रमितको अवस्था सामान्य–अस्पताल
सेती प्रादेशिक अस्पतालमा उपचाररत चारै जना कोरोना संक्रमित बिरामीको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

गत चैत्र ७ गते दुबईबाट दिल्ली हुँदै काठमाडौ भएर धनगढी आएका धनगढी उपमहानगरपालिका ५ का युवा, उनकी भाउजू र चैत्र ११ गते भारतबाट गौरिफन्टा नाका हुँदै आएका लम्किचुहा नगरपालिका एकजना र चैत्र १४ गते कंचनपुरको ब्रम्हदेव नाका हुँदै आएका बेदकोट नगरपालिकाका एकजनाको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर शेर बहादुर कमरले जानकारी दिए ।

डाक्टर कमरले सामान्यतया कोरोना भाइरसको लक्षण देखिएको ८÷१० दिनमा बिरामीमा परिवर्तन देखिने गरेकोमा यहाँ उपचाररत चारैजनाको अवस्था भने पहिलेको जस्तै सामान्य रहेको बताए ।

धनगढीका पहिलो कोरोना संक्रमीतको दोस्रो पटकको रिपोर्ट पनि पोजेटिभ देखिएको थियो ।
सेती प्रादेशिक अस्पतालका प्रबक्ता डाक्टर जगदीश जोशीले बाकी ३ जनाको नमुना संकलन गरेर काठमाडौ पठाएको बताउदै रिपोर्ट आइनसकेको बताए ।

सेती अस्पतालमै उपचाररत दुवइबाट फर्किएका धनगढी उपमहानगरपालिकाका ३४ वर्षिय युवकले भने –‘कोरोना पोजेटिभ देखिएसंगै शुरुमा चिकित्सकहरू पनि नजिक आउँन डराए । तर, अहिले उनीहरू नियमित मेरो स्वास्थ्य अवस्था बुझ्ने र आवश्यक सल्लाह दिइरहेका छन ।’ उनले स्वास्थ्यमा सुधार भइरहेको बताए ।
‘यो सामान्य रोग हो । यसले कमजोर व्यक्तिमा आक्रमण गर्छ । यो रोग लागेपछि खुशी हुनुपर्छ, हाँसिरहनुपर्छ । म त्यस्तै गर्छु’ उनले भने, ‘डाक्टरले भने अनुसार औषधि खाइरहेको छु । केही दिनमै ठिक हुन्छु भन्ने लागेको छ ।’



शनिबार २९, चैत २०७६ ०६:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.