सुदुरपश्चिम खप्तड गोल्डकपमा रुस्लान थ्रीस्टार क्लब सेमिफाईनलमा

Yugnepal     864 पटक पढिएको    

सुदुरपश्चिम खप्तड गोल्डकपमा रुस्लान थ्रीस्टार क्लब सेमिफाईनलमा

धनगढी – रुस्लान थ्रीस्टार नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा वुधवार भएको दोस्रो क्वाटरफाईनलमा जित हात पार्दै अन्तिम चारमा पुगेको हो । पहिलो चरणमा वाई पाएर क्वाटरफाईनल पुगेको थ्रीस्टारले सिमराको नव जनजागृती क्लबलाई २–० ले हराएको हो । ललितपुरे क्लब थ्री स्टारको जितमा संजोग राई र आशिष राईले एक एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थ्री स्टारले दुई गोल गरेको थियो । खेलको ८० औं मिनेटमा निशान खड्काको पासमा संजोगले हेड गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । त्यसपछि खेलको ८१ औं मिनेटमा आशिषले गोल गर्दै थ्री स्टारको जित सुनिश्चित गरे । आशिषले पनि निशान खड्काकै पासलाई सदुपयोग गरे । खेलको म्यान अफ दि म्याच थ्री स्टारका कप्तान विक्रम लामा चुनिए । उनले नगद १० हजार सहित ट्रफी पाए ।
 

खेलपछि प्रतिक्रिया दिदैं थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले विपक्षी टीमले सोचेभन्दा राम्रो खेलेका कारण सुरुमा गोल हुन गाहे भएको भएपनि पछि गोल हुँदा जित हात पारेको बताउनुभयो । हामीले जति सोचेका थियौं त्यो भन्दा पनि राम्रो खेल्यो । त्यही भएर हामीलाई स्कोर गर्न गाहे भयो, प्रशिक्षक केसीले भन्नुभयो– लामो यात्रा गरेर आएका कारण पनि समस्या भयो । अवको खेलमा अझ राम्रो खेल्नेछौं । नव जनजागृती क्लबका प्रशिक्षक सोनु क्षेत्री भने ए डिभिजन टीमलाई कडा टक्कर दिन सकेकोमा सन्तुष्ट भएका छन् । अघिल्लो खेलमा ४–० को जितले मनोबल उच्च भएको थियो । टप कम्फीटिसन म्याचमा पछि तालमेल मिलेन र गोल गर्न सकिएन्, प्रशिक्षक क्षेत्रीले भन्नुभयो– अन्तिम १० मिनेटमा सम्हालिन सकेनौं । पहिलो हाफ जस्तो राम्रो खेल दोस्रो हाफमा खेल्न सकेनौ ।

अब थ्री स्टारले फाइनल प्रवेशको लागि हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रुपन्देहीबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको तेस्रो क्वाटरफाईनलमा बिहीबार नेपाल पुलिस क्लब र एपिएफ क्लब भिड्ने छन् । फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । धनगढी रगशालामा भईरहेको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०÷१० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता हेर्नका लागि टिकट काट्ने दर्शकहरुमध्येबाट गोलाप्रथाद्धारा एक जनाले १३ हजास पाँच सय मुल्य पर्ने रियलमी मोवाईल पाईरहेका छन् भने एक÷एक जना दर्शकले नेशनल प्याथ ल्याब र निसर्ग हस्पिटलमा ५ हजार बराबरको होलवडी चेकजाँचको सुविधा समेत पाईरहेका छन् । वराही नेटले गोल्डकपको टिकटको अर्धकट्टी देखाएमा एक बर्षमा तीन महिना निशुल्क ईन्टरनेटको समेत सुविधा दिईरहेको छ ।



बुधबार १४, फागुन २०७६ ०६:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.