बैंकमा जागीर खाने रहर धेरैलाई हुन्छ । धेरैले भ्याकेन्सी खुलेको समयमा एप्लाई पनि गर्छन् । तर, बैंकमा जागीर खान आवश्यक तयारी नपुग्दा धेरै जसो आवेदक फालिन्छन् । बैंकमा जागीर गर्नका लागि मेनेजमेन्ट अध्ययन गरेर मात्रै पुग्दैन । अन्य थुप्रै ज्ञानहरुको आवश्यकता पर्दछ । हुन त कतिपय बैंकले लिखित परीक्षामा सोध्न सकिने प्रश्नहरुका लागि निश्चित पाठ्यक्रम पनि प्रकाशित गरेका हुन्छन् । प्रायः सरकारी वित्तीय संस्थामा एप्लाई गर्दा यस्तो सुविधा हुन्छ । किनकि, सरकारी संस्थाहरुको पदपूर्तिको परीक्षा लोकसेवा आयोगले लिन्छ । निजी बैंक तथा वित्तीय संस्थाहरुमा भने योग्यताका आधारमा सर्टलिष्ट गरी अन्तर्वार्ताका लागि बोलाउने चलन हुन्छ ।
अनुभव कहाँबाट लिने
बैंक तथा वित्तीय संस्थाहरुले खुलाएको भ्याकेन्सी हेरेर प्रायःको प्रश्न हुन्छ – ‘अनुभव कहाँबाट ल्याउने रु’ बैंकहरुले इन्टर्नसिपका लागि पनि विज्ञापन गरेका हुन्छन् भने अनुभव नभएकाहरुलाई पनि नियुक्त गर्ने गरी सहायक पदहरुमा पनि कर्मचारी मागेका हुन्छन् । यस्ता पदहरुमा एप्लाई गरेर अनुभव लिन सकिन्छ । अनुभव प्राप्त भएपछि आफूले चाहेको पदमा एप्लाई गर्न सकिन्छ । आफूले लिएर अनुभव कहिल्यै खेर जाँदैन । त्यसैले, सानो पद भनेर हिच्किचाउँनुहुँदैन ।
बैंकले कस्ता कर्मचारी खोज्छ
बैंक तथा वित्तीय संस्थाले पदअनुसार माग्ने योग्यता छुट्टै कुरा हो । त्यसबाहेक पनि धेरै जानकारी आफूसँग हुनुपर्छ । मुलुकको बैंकिङसिस्टम कस्तो छ, केकस्ता प्रविधि भित्रिएका छन्, कस्तो कानुन र नियमअनुसार बैंकहरु संचालन भइरहेका छन्, लगायतका कुराहरुको बारेमा राम्रोसँग अध्ययन गरेको हुनुपर्छ । यस्तो खाले जानकारी बैंकमा रोजगारी पाउनका लागि मात्र नभएर पूरै करिअरभरि नै महत्वपूर्ण हुन्छ ।
नियामक निकाय
नेपालका बैंक तथा वित्तीय संस्थाहरुको नियमन नेपाल राष्ट्र बैंकले गर्छ । राष्ट्र बैंकले हरेक वर्ष मौद्रिक नीति जारी गर्छ । यसरी नियामक निकायका हरेक गतिविधि, काम कारवाही लगायतका विषयमा पनि जानकारी हुनुपर्छ । निक्षेप संकलन, कर्जा प्रवाह, प्रविधिको प्रयोग, मर्जर, चुक्तापुँजी लगायतका विषयमा केन्द्रीय बैंकका मापदण्डहरु पनि थाहा हुनुपर्छ । साथमा हालका गभर्नरका बारेमा पनि थाहा पाउनुहोस् । यी सबै विषयहरु राष्ट्र बैंकको वेभसाइटमै उपलब्ध छन् ।
एप्लाई गर्ने बैंकको बारेमा केके थाहा छ
तपाईँले कुन बैंकमा एप्लाई गर्न लाग्नुभएको हो, उक्त बैंकको स्थापनादेखि हालसम्मका मूख्य परिवर्तनहरु थाहा पाउनुहोस् । त्यस्तै, हाल उक्त बैंकका सीईओ, अध्यक्ष, केन्द्रीय कार्यालय, निक्षेप र कर्जाको व्याजदर लगायतका विषयमा पनि अध्ययन गर्नुहोस् । सकेसम्म, उक्त संस्थाको बारेमा धेरै जानकारी हासिल गर्नुहोस् । यस्ता जानकारीहरु सम्बन्धित बैंकको वेभसाइटमा नै उपलब्ध हुन्छन् । त्यस्तै, पछिल्लो समयमा समाचारहरुबाट पनि नयाँ अपडेट लिइरहनुपर्छ ।
एप्लाई गर्ने पदका बारेमा जानकारी
तपाईँले कुन पदमा एप्लाई गर्नुभएको छ, त्यो पदका लागि आवश्यक पर्ने सबै जानकारी तपाईँसँग हुनुपर्छ । जस्तै, कर्जा डिपार्टका लागि हो भने कर्जा प्रवाह प्रक्रिया, असुली प्रक्रिया, कर्जा प्रवाहका विषयमा विद्यमान नीति तथा मापदण्ड, अन्य बैंकहरुको कर्जा प्रवाहका विषयमा प्रकाशित खबरहरु लगायतका विषयमा राम्रो जानकारी हुनुपर्छ । यसले, तपाईँ आफूले एप्लाई गरेको जागीरप्रति सिरियस हुनुहुन्छ भन्ने विश्वास दिलाउँछ ।
अन्य
बैंकले तपाईँ कस्को छोरा छोरी वा नातेदार भनेर हेर्दैन । किनकि, नातेदार भनेर अयोग्य कर्मचारी नियुक्त गर्दा बैंक डुब्छ । यस्तो रिस्क बैंकले कहिले पनि लिँदैन । बैंकले तपाईँसँग भएको जानकारी, इमान्दारीता र कामप्रतिको लगाव हेर्छ । तपार्इँमा वित्तीय अनुशासन छ कि छैन भन्ने कुराले महत्व राख्छ । तपाईँले बोल्ने शैली कत्तिको कन्भिन्सिङ छ भनेर पनि हेरिन्छ । यसले तपाईँ ग्राहकसँग डिल गर्न सक्षम भए नभएर देखाउँछ । तपाईँको कन्फिडेन्स लेभल कस्तो छ भनेर अन्तरवार्ताका क्रममा हेरिन्छ ।
यदि तपाईँ एप्लाई गरेको ठाउँबाट रिजेक्ट हुनुभएको छ भने बैंकले आफ्नो मान्छे राख्यो भनेर कराउने र हिम्मत हार्ने गर्नुभन्दा आफुमा भएको कमजोरी पत्ता लगाई सक्षम बन्नुहोस् । बैंकले तपाईँमध्यृबाटै कर्मचारी छान्ने हो । त्यसैले, आज नभएर भोली, यो संस्थामा नभए अर्को संस्थामा वा यो पदमा नभए अर्को पदमा तपाईँको छनौट अवश्य हुन्छ । बैंकिङ खबरबाट साभार समाचार
प्रतिकृया दिनुहोस