निर्वाचन क्रिकेट संघको, भिडन्त कांग्रेस र कम्युनिष्टको

Yugnepal     899 पटक पढिएको    

निर्वाचन क्रिकेट संघको, भिडन्त कांग्रेस र कम्युनिष्टको

काठमाडौं । सरकारी हस्तक्षेपकै कारण अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) द्धारा निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारण सभा काठमाडौंमा हुँदैछ । शुक्रबारदेखि ९असोज १० र ११ गते ० हुने साधारण सभाले नयाँ नेतृत्व चयन गर्न लागेको हो । 

निर्वाचन समितिका अनुसार शुक्रबार साधारण सभाको उद्घाटन शत्र तथा निर्वाचन सम्बन्धि कार्यविधि तय हुनेछ भने शनिबार निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

यो निर्वाचन निष्पक्ष र राजनीतिक हस्तक्षेप बिना सम्पन्न भए आइसीसीले क्यानको निलम्बन फुकुवा हुन सक्नेछ । असोज १४ गते सम्ममा क्यानको रिपोर्ट आइसीसीमा पुर्याउनु पर्नेछ । 

नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहकार समितिले तयार पारेको विधानमा टेकेर आईसीसीको स्वतन्त्र कमिटिले क्यानको निर्वाचन गराउन लागेको हो ।

राजनीतिक हस्तक्षेपविहीन निर्वाचनका लागि भन्दै उद्घाटन शत्रका लागि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव रमेश कुमार सिलवाललाई अतिथिका रुपमा आमन्त्रण गरिएको छ ।

साधारण सभामा क्यानको जिल्ला र प्रदेशबाट ५९ सदस्य प्रतिनिधि काठमाडौं आएका छन् । सदस्य संख्याको बहुमतले क्यानको नयाँ नेतृत्व चयन गर्नेछ ।

नयाँ नेतृत्वका लागि चतुरबहादुर चन्द र विनयराज पाण्डे प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रने तयारी गरेका छन् ।

भिडन्त कांग्रेस र नेकपाबीच
क्यानमा ५९ मतको खेल रहेको छ । ३९ जिल्ला र ७ प्रदेशका प्रतिनिधिले क्यानको नयाँ नेतृत्व चयन गर्दैछन् । उनीहरुले नै अध्यक्ष, उपाध्यक्ष, सचिव, कोपाध्यक्षसहित १७ सदस्यीय कार्यसमिति चयन गर्नेछन् ।

यो निर्वाचनमा कांग्रेस र कम्युनिष्ट ९नेकपा० बीच नै भिडन्त हुने स्पष्ट भएको छ । अहिलेसम्मको निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द काँग्रेसका प्रतिनिधि हुन् भने विनयराज पाण्डेलाई कम्युनिष्टको प्रतिनिधि बनाइएको छ । 

गठबन्धनमा जाँदा ४० वर्षसम्म क्यानमा रहेका पाण्डेलाई कम्युनिष्टले आफ्नो उम्मेदवार बनाएको हो । 

तत्कालीन राखेप सदस्यसचिव केसव कुमार विष्टले तत्कालीन एमालेले नजित्ने र कम्युनिष्ट तर्फका माओवादी पनि पत्तासाफ हुने भएपछि काँग्रेसका नेता चन्दलाई अस्वीकार गर्दै चुनावमा आफ्नो प्रतिनिधि नै पठाएका थिएनन् । 

सरकारी हस्तक्षेप गर्दै विष्टले अहिलेका सदस्यसचिव सिलवाललाई तदर्थ समितिको अध्यक्ष बनाएका थिए । तर आइसीसीले यो सरकारी हस्तक्षेप मानेन र क्यानलाई नै निलम्बनमा पार्यो । 

त्यसयता पहिलो पटक निर्वाचन हुँदैछ । त्यतिबेला क्यान निलम्बनमा परेपछि चन्द पनि निलम्बनमा परे । तर आइसीसीले विभिन्न आफ्ना बैठकमा प्रतिनिधि बनाउँदा चन्दकै कार्यसमितिलाई पत्र पठाउने गर्दथ्यो । 

चन्द नेतृत्वका लागि प्रयासरत छन् । उनको अहिले पकड राम्रो छ । उनले पहिलेदेखि उठाउँदै आएका एजेन्डा कायमै छन् । 

तर नेकपाले गतिलो उम्मेदवार नपाएपछि पाण्डेसंग सहकार्य गर्न खोजेको हो । पाण्डेको योजना उतिबेलै फ्ल भैसकेको क्रिकेट विज्ञहरु बताउँछन् । 

राष्ट्रिय खेलकुद परिषदका सदस्यसमेत रहेका विनोद मैनालीलाई नेकपाले अगाडि सारे पनि उनले जित्ने सम्भावना नभएपछि छुट्टै मैदानमा उत्रने तयारीमा रहेका पाण्डेलाई अगाडि बढाइएको हो । 

नेकपाको टिम र पाण्डे एक ढिक्का भएपछि चुनाव जित्ने प्रवल सम्भावना देखिएको छ । तर पूर्व एमाले र पूर्व माओवादीको धङधङी बाँकी नै छ । 

प्रदेश ४, ५, ६ र ७ मा काँग्रेसको पकड बलियो भएको बताइन्छ । प्रदेश १, २ र ३ मा भने नेकपाको पकड छ । तर त्यसभित्र पनि भोट क्रस हुने सम्भावना भएको दावी चन्द पक्षले गरेको छ । 

प्रदेश १ मा ८ भोट रहेको छ । यसमा नेकपाको पकड छ । प्रदेश २ संग १२ भोट रहेको छ । पूर्व राष्ट्रिय टिमका कप्तान पवन अग्रवाल टठस्थ छन् । उनलाई पाण्डेले समेट्ने दावी गरिएको छ । 

प्रदेश ३ संग ९ भोट रहेकामा पाण्डेको प्रभाव छ । अनि नेकपाका कार्यकर्ताहरु पनि प्रतिनिधि बनेर आएका छन् । 

प्रदेश ४ संग ६ भोट रहेकामा राष्ट्रिय टिममा पुर्व मुख्य प्रशिक्षक जगत टमाटा पनि प्रतिनिधि रहेकाले मत रोचक बन्ने देखिएको छ । 

त्यस्तै प्रदेश ५, ६ र ७ संग २४ भोट छन् । विनोद मैनाली पनि यहीँबाटै प्रतिनिधि भएर आएका छन् । त्यस्तै चन्दका बलिया सहयात्री अशोकनाथ प्याकुरेल पनि प्रतिनिधि भएर आएका छन् । 

यो जोड घटाउको हिसाबमा प्रदेश २ बाट चन्दले मत छिन्न सके भने उनले जित्ने निश्चित छ । 

तर सदस्यसचिव सिलवालले पाण्डेलाई जोड गरेपछि अहिले समिकरण राम्रो बनेको दावी गरिएको छ । सिलवाल पाण्डेको नेतृत्वका उपाध्यक्ष पनि हुन् । 

त्यसैले उनलाई पाण्डेप्रति भरोसा पनि छ र उनको कमजोरी पनि थाहा छ । आफ्नो प्रभाव जमाउन सिलवालले पाण्डेलाई अगाडि बढाएका हुन् । 

यही कारणले पछि कुनै पनि बेला आइसीसीको नजरमा यो घटनाबाट उत्पन्न हुने प्रभाव नपर्ला भन्न सकिन्न । तर चन्द पक्ष भने जित्नेमा ढुक्क छ ।



शुक्रबार १०, असोज २०७६ ११:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.