‘द बेष्ट’ अवार्ड जितेको भोलिपल्टै चोट बोके मेस्सीले

Yugnepal     911 पटक पढिएको    

‘द बेष्ट’ अवार्ड जितेको भोलिपल्टै चोट बोके मेस्सीले

काठमाडौं । फिफाबाट ‘द बेष्ट’ अवार्ड जितेको भोलिपल्टै अर्जेन्टाइन एवं स्पेनिश फुटबल क्लब बार्सिलोनाका महत्वपूर्ण फरवार्ड खेलाडी लियोनल मेस्सीले चोट बोकेका छन् । 

मंगलबार राति भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा भिल्लारियललाई २–१ गोल अन्तरले हराउने क्रममा मेस्सीले चोट बोकेका हुन् । 

यसअघि लिग सुरु हुँदा पनि उनी पिँडुलाको चोटका कारण खेल्न पाएका थिएनन् । मंगलबार रातिको खेलमा उनी तिघ्राको समस्याले गर्दा मैदानबाट बाहिरिनु पर्यो । 

मैदान छिरेपछि भने मेस्सीले स्पेनिश लिगमा चार सय खेल खेलेको कीर्तिमान रच्न सफल भए । 

मेस्सीले खेलमा गोल गर्न नसके पनि उनकै कर्नरमा एन्टोनी ग्रिजम्यानले छैटौं मिनेटमा हेडमार्फत गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए  ।

अर्तुर भिडालले १५ औं मिनेटमा घरेलु टोलीको अग्रतालाई दोब्बर बनाए । सान्ति क्याजोलाले ४४ औं मिनेटमा भिल्लारियलका लागि गोल गर्दै अन्तर कम गरे । 

दोस्रो हाफमा भने दुवै पक्षले गोल गरेनन् । 

मंगलबार रातिका अन्य खेलको नतिजा 
रियाल भल्लाडोलिड १–१ ग्रानाडा
रियाल बेटिस ३–१ लेभान्ते 

अंक तालिका
६ खेलबाट ११ अंकसहित ग्रानाडा शीर्ष स्थानमा छ । ५ खेलबाट ११ अंकको एथलेटिक बिलबाओ दोस्रो स्थानमा छ । 

५ खेलबाट ११ अंककै रियाल मड्रिड तेस्रो स्थानमा छ । ६ खेलबाट १० अंकको बार्सिलोना चौथो स्थानमा पुगेको छ । रियाल सोसिडाड र एथलेटिको मड्रिडको ५ खेलबाट १० अंक छ । 



बुधबार ०८, असोज २०७६ १०:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.