धोनीलाई पनि पछाडि छोडेका कोहलीको भागमा कीर्तिमानै कीर्तिमान

Yugnepal     696 पटक पढिएको    

धोनीलाई पनि पछाडि छोडेका कोहलीको भागमा कीर्तिमानै कीर्तिमान

काठमाडौं । भारतीय क्रिकेट कप्तान विराट कोहलीले जितका मामलामा यसअघिका सफल कप्तान महेन्द्र सिंह धोनीलाई पनि पछाडि छाडेका छन् । 

भारतले दोस्रो टेष्टमा वेष्ट इन्डिजलाई २५७ रनको फराकिलो अन्तरले पराजित गरेसंगै कोहली सर्वाधिक सफल भारतीय कप्तान बनेका छन् । 

कोहलीले अहिलेसम्म कप्तानी सम्हालेका ४८ खेलमा २८ जित निकालेका छन् । भारतका कुनै पनि कप्तानले यो सफलता हासिल गर्न सकेका छैनन् । 

धोनीले ६० टेष्टमा २७ जित निकालेका थिए । पूर्व कप्तान सौरभ गांगुलीले ४९ खेलमा २१ जित र मोहम्मद अजरुद्धिनले ४७ खेलमा १४ जित निकालेका थिए । 

विदेशी भूमिमा अझ बढी सफल देखिएका कोहलीले कप्तानको रुपमा १३ खेल जितिसकेका छन् । 

विदेशी भूमिमा यसअघि गांगुलीले ११ जित निकालेका थिए । 

भारत–वेष्ट इन्डिजको दोस्रो टेष्ट र समीकरण 
भारतले दोस्रो टेष्ट खेलमा २५७ रनले हराएर वेष्ट इन्डिजविरुद्धको टेष्ट क्रिकेट सिरिजमा २–० ले क्लिनस्वीप गरेको छ । 

किंगस्टनमा भएको खेलमा चौथो दिनमै सोमबार राति जित निकाल्ने क्रममा भारतले ४६८ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजलाई २१० रनमा रोकेको हो । 

समार ब्रुक्सले ५० रन बनाएको इनिङमा रविन्द्र जडेजा र मोहम्मद शामीले ३–३ विकेट लिए । 

पहिलो इनिङमा ह्याट्रिकसहित ६ विकेट लिएका जसप्रित बुमराहले १ विकेट मात्रै लिए । 

यसअघि भारतले हनुमा विहारीको १११ रनको मद्धत र कप्तान विराट कोहलीको ७६ रनको सहयोग तथा इशान्त शर्माको रोचक ५७ रनको प्रदर्शनका कारण ४१६ रन बनाएको थियो । 

जवाफमा वेष्ट इन्डिज ११७ रनमा रोकिएको थियो । भारतले दोस्रो इनिङमा ४ विकेटको नोक्सानीमा १६८ रन बनाएर इनिङ समाप्ति गरेको थियो । 

विहारीले नटआउट ५३ र अजिन्क्या रहानेले नटआउट ६४ रन बनाएका थिए । 

विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत भइरहेको प्रतियोगितामा भारतले वेष्ट इन्डिजमाथि २–० को जितसहित १२० अंक जोडेको छ । वेष्ट इन्डिजले १ अंक पनि बटुल्न सकेन । 

२०२१ मा फाइनल हुनेछ । जसमा ९ टिमबीच भिडन्त भइरहेको छ । 

भारतले पहिलो पटक वेष्ट इन्डिजलाई लगातार चार टेष्टमा हराएको छ । यसअघि सन् २०१३ र २०१६ मा लगातार तीन टेष्टमा भारतले हराएको थियो । 

भारतको वेष्ट इन्डिजविरुद्ध लगातार ८ औं टेष्ट सिरिज हो । सन् २००२ पछि वेष्ट इन्डिजले भारतलाई हराउन सकेको छैन । 



मङ्गलबार १७, भदौ २०७६ १२:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.