फुटबलमा भविष्य खोज्दै गरेकी सुरक्षालाई आर्थिक असुरक्षा

Yugnepal     719 पटक पढिएको    

फुटबलमा भविष्य खोज्दै गरेकी सुरक्षालाई आर्थिक असुरक्षा

 

नेपालगञ्ज – बर्दियाको एउटा थारु गाउँ, सटरिया। बाँसगढी बजारछेउको यो सानो थारुगाउँमा फुटबलको क्रेज पहिलेदेखि नै थियो। त्यसमा अझ एउटै वडामा पर्ने दमौलीले एकताका क्लव स्तरीय फुटबलमा ‘तहल्का’ मच्चाउँदा सटरिया पछि–पछि नै दौडिन्थ्यो।

हो, यही थारुगाउँबाट एक प्रतिभा निस्किएकी छन्, सुरक्षा सुखरिया थारु। सुरक्षाका घरपरिवारमा कोहीले फुटबल खेल्दैनथे। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बाँसगढीमा पढ्न जाँदा उनलाई फुटबलको चस्का लाग्यो।

फुटबल खेल्न थालिन्। उनमा प्रतिभा थियो, अगाडि बढिन्। बर्दियाका प्रशिक्षक रामजीत थारु र लक्ष्मण घर्तिले सुरक्षालाई निखार्न राम्रै कोशिस गरे। स्थानीय नारायण अधिकारीले पनि व्यवस्थापनमा सहयोग गरे।

सुरक्षाले गतवर्ष नेपालको यु–१६ को प्रतिनिधित्व गरिन्। काठमाडौँमा भएको खेलमा उनले डेव्यु गरिन्, मिडफिल्डरको रुपमा। राष्ट्रिय टीमको प्रतिनिधित्व गरेर फर्किएपछि उनले आफ्नै बलबुताले सकेजति प्रशिक्षण लिइन्, त्यसमै सीमित भयो।

एक पटक राष्ट्रिय जर्सी लगाइसकेको खेलाडीलाई निखारिरहन एन्फाले ध्यान नदिनु ठूलो कमजोरी पनि हो। सुरक्षाले भनिन्, ‘एक पटक यु–१६ खेलेर आएपछि घरमै बसेर अभ्यास गरिरहेको छु।’

हरेक फुटबल खेलाडीले देख्ने सपना भनेकै राष्ट्रिय जर्सीको हो। सबै खेलाडीको त्यो सपना पूरा हुँदैन पनि। सुरक्षाजस्तो निम्न आयस्तर भएका खेलाडीलाई राष्ट्रिय टीममा टिकिरहन ठूलो चुनौती रहेको छ।
अञ्जली चौधरी

शनिबार सुरक्षा नेपालगञ्ज रंगशालामा प्रशिक्षण गर्दै थिइन्। प्रदेश प्रशिक्षक युवराज शाहीले प्रदेशको टीम छनौट गरिरहदा सुरक्षाले आफ्नो प्रतिभा देखाइरहेकी थिइन्। एक पटक राष्ट्रिय टीमबाट खेलिसकेकाले सुरक्षा अरु भन्दा अब्बल नै थिइन्। प्रदेशबाट खेलाडी छनौट गर्दै जादा प्रशिक्षक शाहीले एक नम्बरमा सुरक्षाको नाम राखे। किनकी यतिबेला नेपालमा यु–१५ को खेलाडी छनौट भइरहेको छ।

प्रदेशबाट सुरक्षा छनौट त भइन्, तर काठमाडौँमा जान–आउन, खाना र बस्न सबै आफैले खर्च गर्नुपर्छ। प्रशिक्षक शाहीले सबै व्यवस्था आफै गर्नुपर्छ भन्दा सुरक्षाको अनुहार मलिन भयो। उनले भनिन्, ‘घरबाट पैसा जुटाउन त गाह्रो छ। एकपटक भन्छु। सायद, काठमाडौँ जान सक्दिन होला।’

प्रदेशबाट छनौट भएर गएकालाई काठमाडौँमा दुई दिने छनौट राखिएको छ। त्यो छनौटमा जाँदा खेलाडीले सबै खर्च आफैले व्यहोर्नु पर्छ। खेलाडीले नै खर्च व्यहोर्नु पर्ने एन्फाको नियमले गर्दा सुरक्षाजस्ता गाउँका प्रतिभाको पहुँच नहुने पक्कापक्की नै छ।
दिया सुवेदी।

प्रदेश छनौटमा आउँदा आफैले खर्च व्यहोरे पनि यहाँबाट छनौट भइसकेका खेलाडीलाई काठमाडौँमा हुने छनौटमा लाग्ने खर्च एन्फाले व्यहोरेको भए दूरदराजका प्रतिभाको बाक्लो उपस्थिति हुन सक्थ्यो।

एन्फाले आर्थिक बोझ खेलाडीमाथि नै थोपर्दा सुरक्षाजस्तो प्रतिभा माथि पुग्ने संभावना कम हुने खेलभुक्तभोगीहरु बताउँछन्। राष्ट्रिय छनौटका लागि बर्दियाकी सुरक्षाका साथै बाँकेबाट अन्जली चौधरी र दिया सुवेदी परेका छन्।



आइतबार ०१, भदौ २०७६ ११:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.