म्यान्चेस्टर युनाइटेडले शान राख्दा चेल्सीको लज्जा, यस्तो भयो प्रिमियर लिगको पहिलो चरण

Yugnepal     685 पटक पढिएको    

म्यान्चेस्टर युनाइटेडले शान राख्दा चेल्सीको लज्जा, यस्तो भयो प्रिमियर लिगको पहिलो चरण

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले उत्कृष्ट सुरुआत गरेको छ । सिजनको पहिलो खेलमा युनाइटेडले अर्को उपाधिको दावेदार चेल्सीमाथि ४–० गोल अन्तरको फराकिलो जित निकाले हो । 

आइतबार राति ओल्ड ट्राफोर्डको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन मार्कस राष्फोर्डले दुई गोल गरे । यस्तै एन्थोनी मार्सियल र ड्यानियल जेम्सले एक एक गोल गरे ।

खेलको १८ औं मिनेटमा राष्फोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६५ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । 

६७ औं मिनेटमा राष्फोर्डले व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेड ३–० गोल अन्तरले अगाडि रह्यो । खेलको ८१ औं मिनेटमा डेब्यु खेलाडी जेम्स ड्यानियलले गोल गर्दै युनाइटेडलाई ४–० गोल अन्तरको जित दिलाए ।

त्यसअघि खेलको चौंथो मिनेटमा चेल्सीका ट्यामी अब्राहम र ४० औं मिनेटमा इमर्सनले प्रहार गरेको प्रहार पोलमा लागेर फर्केको थियो ।

ओल्ड ट्राफोर्डमा चेल्सीविरुद्ध युनाइटेडको यो सन् १९६५ पछिकै सर्वाधिक फराकिलो जित हो ।

यो खेल जारी प्रिमियर लिगको पहिलो चरणको अन्तिम खेल हो । 


के के भयो पहिलो चरणको नतिजा

पहिलो खेलमा शुक्रबार राति लिभरपुलले नर्विच सिटीलाई ४–१ गोल अन्तरले हरायो । 

दोस्रो खेलमा शनिबार राति डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले वेष्ट ह्याम युनाइटेडलाई ५–० गोल अन्तरले हरायो । रहिम स्टर्लिङले ह्याट्रिक गरे । 

तेस्रो खेलमा बर्नमाउथले शेफिल्ड युनाइटेडसंग १–१ गोलको बराबरी खेल्यो । बर्नमाउथका क्रिस मेप्हामले ६२ औं मिनेटमा र शेफिल्डका बिली शार्पले ८८ औं मिनेटमा गोल गरे । 

चौथो खेलमा बर्नलीले साउथ ह्याम्पटनलाई ३–० गोल अन्तरले हरायो । एस्ले बार्नेसले २ तथा जोहान गुडमुन्डसनले १ गोल गरे । 

पाँचौं खेलमा क्रिस्टल प्यालेस र एभर्टनले गोलरहित बराबरी खेले । छैटौं खेलमा वाटफोर्डले घरेलु मैदानमा ब्राइटनसंग ३–० गोलको हार बेहोरेको छ । 

सातौं खेलमा टोटनह्याम हटसपरले एस्टन भिल्लालाई ३–१ गोल अन्तरले हरायो । घरेलु मैदानमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले २ गोल गरे भने ट्याङ्गे एनडोम्बेलेले १ गोल गरे । एस्टनका जोन म्याकगिनले १ गोल गरे । 

आठौं खेलमा आइतबार लेस्टर सिटी र वुल्भरह्याम्पटन वान्डेरर्सले गोलरहित बराबरी खेले । खेल लेस्टरको मैदानमा भएको थियो । 

नवौं खेलमा आर्सनलले न्युकासल युनाइटेडलाई उसकै मैदानमा १–० गोल अन्तरले हरायो । ५८ औं मिनेटमा पिएरे इम्रिक उबामेले निर्णायक गोल गरे । 

दशौं खेलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई ४–० गोल अन्तरले हराएको हो । 

अंक तालिका 

म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड, लिभरपुल, ब्राइटन, बर्नली, टोटनह्याम र आर्सनल ३ अंकसहित क्रमशः पहिलोदेखि सातौं स्थानमा छन् । 

बर्नमाउथ, शेफिल्ड, क्रिस्टल, एभर्टन, लेस्टर र उल्भरह्याम्पटन १–१ अंकसहित आठौंदेखि १३ औं स्थानमा छन् । 

पराजित भएका न्युकासल, एस्टन, नर्विच, साउथह्याम्पटन, वाट्फोर्ड, चेल्सी र वेष्ट ह्याम १४ औं देखि २० औं स्थानमा छन् ।



सोमबार २७, साउन २०७६ १०:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.