सन्दीप लामिछानेको टिम टोरन्टो ग्लोबल टी–२० को पहिलो खेलमै पराजित

Yugnepal     664 पटक पढिएको    

सन्दीप लामिछानेको टिम टोरन्टो ग्लोबल टी–२० को पहिलो खेलमै पराजित

 

काठमाडौं । क्यानाडामा बिहीबारदेखि सुरु भएको ग्लोबल टी–२० क्रिकेट लिगमा नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित रहेको टोरन्टो नेसनल्स उद्घाटन खेलमै पराजित भएको छ । 

बिहीबार राति भएको उद्घाटन खेलमा टोरन्टोलाई डिफेन्डिङ च्याम्पियन भ्यानकुभर नाइट्सले ८ विकेटले पराजित गरेको हो । 

भारतीय खेलाडी युवराज सिंहको कप्तानीमा रहेको टोरन्टोले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १५९ रन बनायो । 

ओपनिङ ब्याट्सम्यान रोड्रिगो थोमस र हेन्रेच क्लासेनले समान ४१–४१ रन बनाए । थोमसले ३१ बलमा तथा क्लासेनले २० बलमा उक्त योगफल बनाएका हुन् । काइरन पोलार्डले १३ बलमा नटआउट ३० रन बनाए । 

इंगल्याण्ड विश्वकपका बेलामा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका युवराजले २७ बलमा १४ रन बनाए । 

जवाफमा १६० रनको लक्ष्य भ्यानकुभरले १७।२ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गरेको हो । भान देर डुसेनले ४३ बलमा नटआउट ६५ रन तथा चाडविक वाल्टोनले ३५ बलमा नटआउट ५९ रन बनाए ।

कप्तान वेष्ट इन्डिजका खेलाडी क्रिस गेलले १० बलमा १२ रन बनाए । 

यो खेलमा खेलेनन् सन्दीप
यो खेलमा टोरन्टोका लागि सन्दीप लामिछानेले खेलेनन् । सन्दीप सिंगापुरमा जारी विश्वकप टी–२० एसियाली छनोट चरणको फाइनल खेलका लागि रहेकाले उपस्थित हुन नसकेका हुन् । 

सन्दीपले शनिबार कुवेत विरुद्ध खेल्दैछन् । 

अन्तिम खेलमा नेपालले आयोजक सिंगापुरसंग खेल्दैछ । 

उक्त खेल सकेर सन्दीप सिधै क्यानाडा जानेछन् । 



शुक्रबार १०, साउन २०७६ १२:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.