स्कुल विभागमा झलनाथ  उत्तम पात्र यसकारण नारायणकाजी श्रेष्ठ नै

Yugnepal     624 पटक पढिएको    

स्कुल विभागमा झलनाथ  उत्तम पात्र यसकारण नारायणकाजी श्रेष्ठ नै

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा को एकता प्रक्रिया पूरा नहुँदै पार्टी द्धन्द्धात्मक स्थितिमा पुगेको विश्लेषण गर्न थालिएको छ । एकता भएको १४ महिनासम्म पनि पार्टीको पूर्ण एकता प्रक्रिया टुंगो लाग्न नसकेपछि पार्टीभित्र धेरै समस्या रहेको स्पष्टै देखिएको छ । 

स्कुल विभागलाई लिएर झण्डै दुई सातादेखि नेकपाभित्र चर्काचर्की परिरहेको छ । पूर्व एमाले निकटका नेताहरुले महत्वपूर्ण विभाग आफैले लिएपछि बाँकी रहेको स्कुल विभाग आफूले पाउनु पर्ने दावी पुष्पकमल दाहाल प्रचण्डको पूर्व माओवादीले गरेको छ । 

विचार सबै सकिइरहेको सन्दर्भमा आफ्ना साख जोगाउन पनि प्रचण्डले यो विभाग खोजिरहेका छन् । त्यसका लागि उत्तम विकल्प नारायणकाजी श्रेष्ठ नै देखिएका छन् । 

सादगी विचारका श्रेष्ठले यो संगठन सम्हाल्ने हो भने पक्कै पनि पार्टीको स्कुल सुध्रिने निश्चित छ । श्रेष्ठ लोभलालचमा नफस्ने उनी निकटकाहरु बताउँछन् । 

सादा जीवन मन पराउने उनी सच्चा कम्युनिष्ट भएको समेत बताउनेहरु धेरै छन् । अहिले कम्युनिष्टमा कमाउनिष्ट बढेको भन्दै इमानदार भेट्न मुस्किल भएका अवस्थामा नारायणकाजीको शैली पुरानै देखिन्छ ।

तर दुर्भाग्य उनलाई सजिलैसंग स्कुल विभाग दिन खोजिएको छैन । यही सांगठनिक एकताको विवाद टुंगो लगाउन बस्ने भनिएको नेकपाको सचिवालय बैठक नै अनिश्चित भएको छ ।

स्कुल विभागमा विवाद भएपछि गृहकार्य नपुगेकाले बैठक बस्न नसकेको बताइएको छ । स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले अडान नछोडेपछि समस्या बल्झिदैँ गएको छ ।

पोखरेल र श्रेष्ठलाई काउन्टर दिन घनश्याम भुषाल र बेदुराम भुषाल पनि आइपुगेका छन् । दुवैसंग पूर्व एमालेमा रहेर स्कुल विभाग सम्हालेको अनुभव छ । 

पछिल्लो समय स्कुल विभागको महत्व धेरै नै रहेछ नि भन्दै नेकपाका वरिष्ठ नेता झलनाथ खनाल पनि इच्छुक देखिएको बुझिएको छ । 

पोखरेललाई माओवादीले नस्वीकार्ने र श्रेष्ठलाई एमालेले नस्वीकार्ने भएपछि मध्यमार्गीको रुपमा झलनाथलाई दिन सकिने चर्चा समेत चल्न थालेको छ । 

सत्ता र पार्टीमा केपी शर्मा ओली हावी भइरहेकाले उनलाई असफल बनाउन पनि माओवादीले पूर्व एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई सघाउन सक्ने विश्लेषण गरिएको छ । 

के होला ईश्वर पोखरेलको रु 
ईश्वर पोखरेल प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीका विश्वासिला पात्र । उनकै विश्वासले ओली यहाँसम्म आएका छन् । र पोखरेलले पनि अप्ठेरो परिस्थितिमा काँध थाप्दै आएका छन् । 

प्रचण्डले पेल्दा पोखरेल चट्टान बनेर खडा हुन्छन् र ओलीसंगै सरकारको बचाउ गर्छन् । 

प्रचण्डले समय अनुसार नयाँ वादमा जानुपर्छ भन्दा ईश्वर पोखरेल जनताको बहुदलीय जनवाद जबज नै उत्तम विचार रहेको भन्दै प्रचण्डलाई काउन्टर दिन्छन् । 

उपप्रधान तथा रक्षा मन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वरले हरेक पटक ओलीलाई साथ दिइरहेका छन् भने अहिले महत्वपूर्ण समयमा ओलीले किन ईश्वरलाई साथ दिन सकिरहेका छैनन् । 

ईश्वरको मन यतिबेला विचलित भए पनि उनी भने स्कुल विभाग आफैले पाउनेमा विश्वस्त छन् । 

आखिर अध्यक्षलाई सघाउने एक जना त चाहियो नि । यदि ईश्वर भएनन् भने ओलीको सचिवालयभित्रको शाख पनि घट्ने छ । 



शुक्रबार १०, साउन २०७६ १०:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.