भारतीय दबाबका कारण सप्तकोशी ब्यारेजका ३० ढोका बन्द गरिए, नेपाललाई ठूलो क्षति हुने सम्भावना

Yugnepal     958 पटक पढिएको    

भारतीय दबाबका कारण सप्तकोशी ब्यारेजका ३० ढोका बन्द गरिए, नेपाललाई ठूलो क्षति हुने सम्भावना

 

सुनसरी । पूर्वी पहाडी क्षेत्रमा वर्षा निरन्तर भएर सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव भइरहँदा पनि कोशी ब्यारेजका ढोकाहरु बन्द गरिएको छ । 

आइतबार बिहान लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ५६ वटै ढोका खोलिएकामा त्यसपछि भने भारतको बिहार डुबानमा परेको भन्दै ३० वटा ढोका बन्द गरिएको छ । 

यसले गर्दा नेपालतर्फ डुबान बढ्दै गएको छ । यसअघि ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्दै जाँदा आइतबार बिहान सबै ढोका खोलिएको बताएका थिए । 

नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा बिहान दुई लाख ९० हजार क्यूसेक पानी बगिरहेको थियो । शनिबार तीन लाख १८ हजार ६५० क्यूसेक पानी बगिरहेको थियो ।     
     
यो वर्ष सप्तकोशीमा २४ हजार क्यूसेक पानीबाट अहिले बढ्दै सो क्षमतामा बगिरहेको छ । एक दशकअघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुटेको थियो ।

बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएकाले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाए पनि भारतीय सरकारको दबाबमा ३० ढोका बन्द गरिएका छन् । 
   
जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार पनि निरन्तर वर्षा हुने भएकाले सचेत रहन आग्रह गरेको छ । वर्षा जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले स्थानीय बासिन्दालाई सचेत गराएको छ । 

यसअघि सबै ढोका खोलेपछि भारतको बिहार पनि जलमग्न भएको थियो । बिहार डुबेसंगै सप्तकोशीका ढोका बन्द गर्न दबाब दिइएको थियो । 

सन्धी अनुसार सप्तकोशीको कोशी ब्यारेज भारतको नियन्त्रणमा छ । बिहार डुब्दा त्यहाँको सरकारले ढोका बन्द गर्न भारतीय पक्षलाई नै दबाब दिएको थियो ।



आइतबार २९, असार २०७६ ११:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.