शिक्षकको कुटाइबाट नौ कक्षाका विद्यार्थीको मृत्यु

Yugnepal     650 पटक पढिएको    

शिक्षकको कुटाइबाट नौ कक्षाका विद्यार्थीको मृत्यु

काठमाडौं,  शिक्षकको कुटपिटबाट कञ्चनपुरमा एक विद्यार्थीको मृत्यु भएको छ। उनको उपचारका क्रममा भारतमा मृत्यु भएको हो।  

कञ्चनपुरको भिमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयमा अध्यानरत माधव कलौनीलाई असार १३ गते तीन जना शिक्षकले कुटपिट गरेका थिए। शिक्षकको कुटपिटबाट उनी घाइते भएका थिए। उनको छाती, टाउकोमा चोट लाग्नुका साथै दायाँ खुट्टा भाँचिएको थियो।

बैतडीको मेलौली घर भएका माधव कञ्चनपुरमा मामाको घरमा बसेर पढिरहेका थिए। शिक्षकको कुटपिटले नै उनको मृत्यु भएको मावधका मामा प्रकाश जोशीको भनाइ छ।

शिक्षकको कुटाइबाट घाइते भएका कक्षा ९ का विद्यार्थी मावध जोशी अस्पताल जानु अघि घरमा।

शिक्षकको कुटाइबाट घाइते भएका कक्षा ९ का विद्यार्थी मावध जोशी अस्पताल जानु अघि घरमा।

घाइते विद्यार्थीलाई उपचारका लागि महाकाली तथा सेती अञ्चल अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि भारतको भोजपुर मेडिकल कलेजमा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको हिजो भारतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए।

उनका अनुसार, आज उनको शव नेपाल ल्याइँदै छ। शव भारतमै भएकाले अहिले मौखिक जानकारीमा मात्रै आएको उनले बताए।

विद्यार्थीका आफन्तले घाइते भएकै बेला तीन जना शिक्षकको नाममा उजुरी दिएका थिए। मृत्यु भएपछि भने उजुरी नआएको प्रहरी निरीक्षक भट्टले बताए ।

बालकको मृत्यु भएको जानकारी आएपछि प्रहरीले तीन जना शिक्षकलाई पक्राउ गरेको छ। शिक्षक दुर्गादत्त पाठक, लक्ष्मीदत्त भट्ट र हर्कबहादुर जाग्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरी निरीक्षक भट्टले बताए।

मृतक विद्यार्थीको शव नेपाल ल्याएपछि अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



बुधबार २५, असार २०७६ ०१:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.