भारत विश्वकपको फाइनलमा पुग्ने सम्भावना बढ्यो, न्यूजिल्याण्ड ४६।१ ओभरबाट अगाडि खेल्ने

Yugnepal     682 पटक पढिएको    

भारत विश्वकपको फाइनलमा पुग्ने सम्भावना बढ्यो, न्यूजिल्याण्ड ४६।१ ओभरबाट अगाडि खेल्ने

 

काठमाडौं । इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत र न्यूजिल्याण्डबीचको वर्षाले गर्दा मंगलबार रोकिएको पहिलो सेमिफाइनल खेल बुधबार हुँदैछ । 

म्यानचेस्टरमा पूरा हुनुपर्ने खेल वर्षाले पूरा हुन नसकेका कारण रिजर्भ डेमा बुधबार हुन लागेको हो । वर्षाले खेल रोकिनुअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ४६।१ ओभरमा ५ विकेटको नोक्सानीमा २११ रन बनाएको छ ।

कप्तान केन विलियम्सन ६७ रनमा आउट भएका छन् । रोस टेलर ६७ र टम लाथम ३ रनमा नटआउट छन् । दुवै जनाले बुधबार न्यूजिल्याण्डको ब्याटिङलाई निरन्तरता दिने छन् । 

न्यूजिल्याण्डको ब्याटिङ ४६।१ ओभरपछि नियमित हुनेछ । उसका ५ विकेट बाँकी छन् । 

जस्प्रित बुम्राह, भुवनेश्वर कुमार, हार्दिक पाण्डेया, रबिन्द्र जडेजा र युजभेन्द्र चाहालले समान १–१ विकेट लिएका छन् ।

भुवनेश्वर कुमारले ११ बल बलिङ गर्न बाँकी छ भने बुम्राहले २ ओभर बलिङ गर्न बाँकी छ । अन्य बलरले बलिङ पूरा गरेका छन् । 

के छ बुधबारको मौसम 
त्यहाँको मौसम विभागका अनुसार बुधबार बादल लागिरहेको छ । वर्षाको सम्भावना मंगलबार राति कम भएर गएको बताइए पनि बुधबार बिहान भने ६५ प्रतिशत वर्षाको सम्भावना बताइएको छ । 

सोमबार मौसम विभागले मंगलबार र बुधबार बर्षा हुने जनाएको थियो । वर्षाको सम्भावना बढ्दै जाँदा नतिजा पनि स्पष्ट हुँदै गएको छ । 

यदि बुधबार पनि वर्षा भए के हुन्छ  
बुधबार पनि वर्षा भएर खेल पूरा हुन सकेन भने भारतलाई फाइदा हुनेछ । 

भारत स्वतः फाइनलमा पुग्नेछ । किनकि आइसीसीको नियमानुसार यदि रिजर्भ डे मा पनि खेल हुन सकेन भने स्वतः लिग चरणको अंक तालिका र रन रेट हेरिन्छ । 

त्यो अनुसार भारत शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेकाले स्वतः फाइनलमा पुग्नेछ । भारतको १५ अंक रहेको छ भने न्यूजिल्याण्ड ११ अंकसहित चौथो भएर सेमिफाइनलमा पुगेको हो । 

दोस्रो सेमिफाइनल बिहीबार 
दोस्रो सेमिफाइनल बिहीबार हुनेछ । बिहीबार अष्ट्रेलिया र इंगल्याण्ड खेल्नेछन् । 

अष्ट्रेलिया लिगको दोस्रो स्थानमा रहेर र इंगल्याण्ड तेस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको थियो । 

अष्ट्रेलियाले १४ तथा इंगल्याण्डले १२ अंक जोडेको थियो । 



बुधबार २५, असार २०७६ १२:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.