नेपालले १० रनमा रोकेर २ बलमै खेल जित्न सक्छ भने पाकिस्तानले बंगलादेशलाई किन सक्दैन

Yugnepal     706 पटक पढिएको    

नेपालले १० रनमा रोकेर २ बलमै खेल जित्न सक्छ भने पाकिस्तानले बंगलादेशलाई किन सक्दैन

 

काठमाडौं । इंगल्याण्डमा भइरहेको एक दिवसीय विश्वकप क्रिकेटमा शुक्रबार दुई दक्षिण एसियाली प्रतिद्धन्द्धीहरु पाकिस्तान र बंगलादेश भिड्दै छन् ।

दिउँसो ३ः१५ बजे लर्डसको मैदानमा हुने खेलको परिणामले सेमिफाइनल समीकरणलाई असर नपार्ने लगभग पक्का छ ।

तर गणितको विभिन्न समीकरण लगाएर पाकिस्तानले विशाल भन्दा पनि विशाल अन्तरले खेल जित्ने हो भने सेमिफाइनलमा पुग्न सक्ने चर्चाहरु अहिले क्रिकेट पंडितहरुले गरिरहेका छन् ।

क्रिकेटमा असम्भव केही पनि छैन । मात्र १० बलले १० जना ब्याट्सम्यान ‘शून्य’ योगफलमै आउट हुन सक्छन् ।

अर्थात् बिना कुनै चुनौती पनि टिम अलआउट हुँदै लुरुलुरु पेभेलियनको बाटो लाग्न सक्छ । जवाफमा आउनेले १ बनाए खेल जित्छ ।

त्यो परिणाम पनि नहोला भन्न सकिन्न । र कहिले कुनै पनि विकेट नै नढली पनि ५० ओभरको खेल पूरा हुन सक्छ ।

अनि हरेक बलमा ६ छक्का प्रहार गर्दा १८०० रन बन्न सक्छ । जे पनि हुन सक्छ । असम्भव केही पनि छैन ।

विश्वकप मै भारतीय क्रिकेट खेलाडी युवराज सिंहले एकै ओभरमा ६ छक्का प्रहार गर्दा सुरुआती क्रममा अविश्वास भयो । तर त्यो यथार्थ थियो ।

जब एक ओभरमा ६ छक्का हान्न सकिन्छ भने ५० ओभरमा सबै छक्का हान्न असम्भव त पक्कै हैन ।

यिनै तथ्यलाई केलाउने हो भने पाकिस्तानले पहिले ब्याटिङ गर्दै अहिलेसम्म एक दिवसीयमा नबनेको स्कोर बनाउन सकोस् । अनि बंगलादेशलाई झिनो रनमै समेट्न सकोस् ।

यस्तो भयो भने पाकिस्तान पनि सेमिफाइनलमा पुग्नेछ । न्यूजिल्याण्डलाई रन रेटमा पछाडि पार्दै ।

खेल रन रेटको
पाकिस्तानलाई गणितको सहारा चाहिएको केवल रन रेटका कारण हो । पाकिस्तानको ९ अंक छ । उसको रन रेट भने माइनसमा चलिरहेको छ ।

माइनस ०।७९२ रहेको छ रन रेट । अनि न्यूजिल्याण्डको ११ अंक छ । उसको रन रेट प्लसमा ०।१७५ छ । पाकिस्तानलाई सेमिफाइनलमा पुग्नका लागि प्लस ०।१७५ भन्दा माथि हुनुपर्नेछ ।

त्यसका लागि अहिलेसम्मका असम्भव भएका रेकर्डहरु पाकिस्तानले तोड्नु पर्नेछ । तर असम्भव छैन ।

सामान्य हिसाबले पनि भन्ने हो भने पाकिस्तानले पहिले ब्याटिङ गर्दा ३०० रन पार गर्ने हो भने १० रनसम्मकै अलआउट गरिसक्नुपर्नेछ बंगलादेशलाई ।

इतिहासले यो सम्भव देखाउँछ त
नेपालले १३ वर्षअघि म्यानमारसँग खेलेको थियो । त्यो खेलमा नेपाली टोलीले मात्रै दुई बलमा खेल जित्दै कीर्तिमान बनाएको थियो ।

एसिसी ट्रफी क्रिकेट अन्तर्गत मलेसियामा भएको उक्त खेलमा म्यानमारले १२।१ ओभरमा अलआउट हुँदै १० रन मात्र बनाएको थियो ।

नेपालका मेहबुब आलमले ७ तथा विनोद दासले ३ विकेट लिएका थिए ।

११ रनको विजयी लक्ष्य नेपालले दुई बलमै पूरा गरेको थियो ।

यो रेकर्ड अब नेपालले सायदै राख्ला ।

यसलाई आधार बनाउँदा पाकिस्तानले चमत्कार गर्न नहुने कहाँ लेखेको छ रु

तर एक दिवसीयमा अहिलेसम्म भएका नतिजालाई आधार मान्ने हो भने श्रीलंकाले सन् २००४ मा जिम्बाबेलाई १८ ओभरमा अलआउट गर्दै ३५ रनमा रोकेको थियो ।

क्यानडालाई सन् २००३ मा श्रीलंकाले १८।४ ओभरमा अलआउट गर्दै ३६ रनमा रोकेको थियो ।

श्रीलंकाले नै जिम्बाबेलाई सन् २००१ मा १५।४ ओभरमा अलआउट गर्दै ३६ रनमा रोकेको थियो ।

त्यस्तै वेष्ट इन्डिजले पाकिस्तानलाई सन् १९९३ मा १९।५ ओभरमा अलआउट गर्दै ४३ रनमा रोकेको थियो ।

त्यस्तै सन् २००० मा श्रीलंकाले भारतलाई २६।३ ओभरमा अलआउट गर्दै ५४ रनमै रोकेको थियो ।

सोही रनमा दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई रोकेको थियो सन् २००४ मा ।
 

त्यस्तै श्रीलंकाले जिम्बाबेलाई २४।५ ओभरमा अलआउट गर्दै ४४ रनमा रोकेको थियो ।

अब पालो बंगलादेशको
बंगलादेश अहिले रनरेटमा पाकिस्तानभन्दा माथि छ । पाकिस्तानको माइनस ०।७९२ हुँदा बंगलादेशको माइनस ०।१९५ रहेको छ ।

बंगलादेशले जारी विश्वकपमा दक्षिण अफ्रिका, वेष्ट इन्डिज र अफगानिस्तानलाई हराएको थियो । कुनै समय बंगलादेश सेमिफाइनलको दावेदार बनिरहेको थियो ।

बंगलादेशले जुन खेलमा हारे पनि लज्जास्पद हार बेहोरेको थिएन । त्यसैगरी हार खेप्दा पनि अष्ट्रेलियाविरुद्ध ४८ रनले हार्दा पनि ३३३ रन बनाएको थियो ।

बंगलादेशका अलराउन्डर शाकिब अल हसनले जारी विश्वकपमा सनसनी मच्याएका छन् ।

उनी म्यान अफ द सिरिजका प्रमुख दावेदार हुन् । उनलाई रोक्न सक्नु पाकिस्तानका लागि ठूलै उपलब्धी हुनेछ ।

अर्थात् बंगलादेशले पाकिस्तानलाई नै हराउने सम्भावना देखिएको छ । जुन गतिले पाकिस्तानले खेलिरहेको छ त्यो त्यति चामत्कारिक छैन ।

पाकिस्तान सन् १९९२ को विश्वकप विजेता हो । जतिबेला बंगलादेशले विश्वकप खेल्नसमेत थालेको थिएन । यसअर्थमा बंगलादेशले जारी विश्वकपमा धेरै सुधार गरिसकेको छ । पराजित भएर विश्वकपबाट बाहिरिँदा पनि बंगलादेशलाई अबका विश्वकपमा सेमिफाइनल पुग्न सक्ने एक दावेदार टिमका रुपमा हेर्न थालिएको छ ।

यी आँकडाहरु सामुन्ने हुँदा कतै विश्वका क्रिकेट पंडितहरुले गणितको हवाला दिँदा दिँदै पाकिस्तान नै त कतै पराजयको बाटोमा पुग्दै छैन रु

अंक तालिका
अंक तालिकामा एक एक खेल खेल्न बाँकी छँदा अष्ट्रेलिया १४ अंक सहित शीर्ष स्थानमा छ । अष्ट्रेलियाले अब दक्षिण अफ्रिकासंग खेल्न बाँकी छ ।

त्यसैगरी १३ अंकबाट दोस्रो स्थानमा रहेको भारतले श्रीलंकासंग खेल्न बाँकी छ । अष्ट्रेलिया र भारतमध्ये एक टिम शीर्ष स्थानमा पुग्नेछ भने अर्को टिम दोस्रोमा हुनेछ ।

तेस्रो स्थानको इंगल्याण्डको १२ र चौथो स्थानको न्यूजिल्याण्डको ११ अंक छ । पाकिस्तानले असम्भवलाई सम्भव नबनाए न्यूजिल्याण्ड चौथोमै रहेर सेमिफाइनल खेल्नेछ ।

सेमिफाइनलमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो टिम भिड्ने छन् । भारतले शनिबार श्रीलंकासंग खेल्नेछ र अष्ट्रेलियाले दक्षिण अफ्रिकासंग खेल्नेछ ।

शनिबारै छिनोफानो हुनेछ सेमिफाइनल समीकरण ।



शुक्रबार २०, असार २०७६ ०१:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.