विदेशी जेलमा ५४५ नेपाली युवा, २५ लाई फाँसीको सजाय

Yugnepal     1051 पटक पढिएको    

विदेशी जेलमा ५४५ नेपाली युवा, २५ लाई फाँसीको सजाय

 

काठमाडौं, पैसा कमाउने आसमा बिदेश गएका कतिपय नेपाली युवा जेल परेका छन्। उनीहरू वर्षादेखि जेलजीवन बिताउन बाध्य छन्।

अहिले सात देशमा पाँच सय ४५ नेपाली कामदारले जेल जीवन बिताइरहेको बैदेशिक रोजगार बोर्डले जनाएको छ। विभिन्न देशमा रहेका कुटनीतिक नियोगमार्फत प्राप्त जानकारीका आधारमा बोर्डले तथ्यांक पाएको सूचना अधिकारी दीनबन्धु सुबेदीले बताए।

बोर्डका अनुसार, कुवेत, युएई, मलेसिया, ओमान, साउदी अरब, कतार र बहराइनमा १९ महिलासहित पाँच सय ४५ नेपाली युवा जेलमा छन्।

उनीहरूमध्ये २५ जनालाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाइएको छ। जेलमा रहेका दुई सय ९३ जनालाई सजाय तोक्न बाँकी रहेको छ।

विभागका अनुसार, जेलमा रहेका ७५ जनालाई तीन महिनाभन्दा कम, ४४ जनालाई एक वर्षभन्दा कम, १९ जनालाई १० वर्ष भन्दा कम र सात जनालाई आजिवन कारावास सजाय सुनाइएको छ।

त्यस्तै, पाँच जनालाई १५ वर्षभन्दा कम, दुई जनालाई २५ वर्ष र दुई जनालाई १५ वर्ष कैद सजाय तोकिएको छ। बोर्डका अनुसार, १८ जनालाई जरिवाना मात्रै तोकिएको छ।

सबैभन्दा धेरै दुई सय पाँच जना मलेसियाको जेलमा छन। सबैभन्दा कम ओमानमा तीन जना छन्।

रोजगारमा गएका युवा लागुपदार्थको कारोबार, झैझगडा, हत्यालगायतका विभिन्न मुद्दामा जेल परेका हुन्।

जेल परेकामध्ये कतिपय अपराधमै संलग्न रहेको र कतिपयलाई फसाएको पाइएको विभागका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए। फसाकाएका युवालाई कुटनीतिक नियोगमार्फत नेपाल सरकार, बैदेशिक रोजगार विभाग र बोर्डले नेपाल फर्काउने पहल गरिरहेको उनले बताए।



बिहिबार १२, असार २०७६ ०३:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal