अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने पहिलो टिम

Yugnepal     728 पटक पढिएको    

अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने पहिलो टिम

काठमाडौं । अष्ट्रेलिया इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । मंगलबार राति भएको खेलमा आयोजक इंगल्याण्डलाई ६४ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया सेमिफाइनलमा पुगेको हो । 

दुई खेल अगाबै सेमिफाइनलमा पुगेको अष्ट्रेलियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको इंगल्याण्ड ४४।४ ओभरमा अलआउट हुँदै २२१ रनमा रोकियो । 
बेन स्टोक्सले ८९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जोनी बैस्टोले २७, क्रिस वोक्सले २६ तथा जोस बट्लर र रशिद आदीलले समान २५–२५ रन बनाए ।

अष्ट्रेलियाका लागि जासन पाउल बिहेर्नड्रोफले १० ओभरमा ४४ रन खर्चेर ५ विकेट लिए । यस्तै मिचेल स्टार्कले ८।४ ओभरमा ४३ रन खर्चेर ४ विकेट लिए ।

लर्डसको मैदानमा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ७ विकेटको नोक्सानीमा २८५ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले १०० रन बनाएका थिए । फिन्चले ११६ बलमा ११ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै डेभिड वार्नरले ५३ तथा एलेक्स केरी र स्टेभेन स्मिथले ३८–३८ रन बनाएका थिए । 

क्रिस वोक्सले २ विकेट लिए । यस्तै जोफ्रा आर्चर, मार्क वुड, बेन स्टोक्स र मोइन अलीले एक एक विकेट लिए ।

पाँच पटकको विश्वकप च्याम्पियन अष्ट्रेलियाले ७ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ । पराजित इंग्ल्याण्ड ७ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा यथावत् छ ।



बुधबार ११, असार २०७६ १०:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.