आखिर त्यस्तो के जादू छ शकिब अल हसनसंग जसले बंगलादेशलाई फाइनलमा पुर्याउन खोज्दै

Yugnepal     765 पटक पढिएको    

आखिर त्यस्तो के जादू छ शकिब अल हसनसंग जसले बंगलादेशलाई फाइनलमा पुर्याउन खोज्दै

 

काठमाडौं । विश्वकप एक दिवसीय क्रिकेटमा अफगानिस्तानपछिको कान्छो टोलीको रुपमा बंगलादेश चिनिन्छ । तर इंगल्याण्डमा जारी १२ औं संस्करणको विश्वकपमा भने बंगलादेशले आकर्षक खेल देखाइरहेको छ । 

विश्वकपमा अहिलेसम्मकै बढी खेल बंगलादेशले जितेको छ । जारी विश्वकपमा उसले तेस्रो जित निकालेको छ । त्यो पनि अप्रत्याशित नतिजा ल्याउँदै । विरलै अनुमान गर्न सकिने दक्षिण अफ्रिकालाई समेत बंगलादेशले माथ दिएको छ । 

बंगलादेशको मनोबल बढ्नुका उच्च फ्याक्टर बनेका छन् अलराउन्डर शकिब अल हसन । उनले ब्याटिङमात्र हैन बलिङ पनि उत्तिकै सशक्त गरिरहेका छन् । 

उनी आफ्नो टोली विश्वकपको फाइनलमा पुगेको हेर्न चाहन्छन् । सोही अनुसारको मेहनत पनि गरिरहेका छन् । 

यस्तो छ उनको प्रदर्शन 

पहिलो खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई २१ रनले हराउँदा शकिबले ७५ रन बनाए । बंगलादेशले ३३० रन बनाएको थियो । शकिबले १ विकेटसमेत लिएका थिए । 

दोस्रो खेलमा बंगलादेशसंग न्यूजिल्याण्ड २ विकेटले पराजित भयो । शकिबले न्यूजिल्याण्डका दुवै ओपनरलाई आउट गरेका थिए । उनले ६८ बलमा ६४ रन पनि बनाएका थिए । 

तेस्रो खेलमा बंगलादेश आयोजक इंगल्याण्डसंग १०६ रनले पराजित भयो । इंगल्याण्डले ३८६ रन बनाएकामा बंगलादेश २८० रनमा अलआउट भयो । शकिबले ११९ बलमा १२१ रन बनाएका थिए । बलिङतर्फ भने उनले विकेट लिन सकेनन् । 

चौथो खेलमा बंगलादेशले श्रीलंकासंग अंक बाँड्यो । बर्षाले खल रद्द हुँदा दुवै टिमले १–१ अंक बाँडेका थिए । 

पाँचौं खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई ७ विकेटले हरायो । निकै शानदार प्रदर्शन । वेष्ट इन्डिजले ८ विकेटको नोक्सानीमा ३२१ रन बनाएकामा बंगलादेशले ४१।३ ओभरमै ३ विकेटको नोक्सानीमा जीत पायो । 

शकिबले ९९ बलमा १२४ रन बनाएका थिए । यति सम्यमित खेल देखाए कि १६ चौका हाने तर छक्का हानेनन् । शकिबले २ विकेट समेत लिए । 
छैटौं खेलमा बंगलादेशलाई अष्ट्रेलियाले ४८ रनले हरायो । तर बंगलादेशको हार शानकै थियो । अष्ट्रेलियाले ५ विकेटको नोक्सानीमा ३८१ रन बनायो । 
जवाफमा बंगलादेशले ८ विकेटको नोक्सानीमा ३३३ रन बनायो । जुन शानकै प्रदर्शन थियो । शकिबले ४१ बलमा ४१ रन बनाए । यसमा शकिबले विकेट लिन सकेनन् । 

सातौं खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले हरायो । बंगलादेशले शकिबको ५१ रनको मद्धतले ७ विकेटको नोक्सानीमा २६२ रन बनाएको थियो । 

जवाफमा अफगानिस्तान ४७ ओभरमा अलआउट हुँदै २०० रनमा रोकियो । शकिबले २९ रन दिएर ५ विकेट लिए । अहिलेसम्म कुनै पनि बंगलादेशी बलरले विश्वकपमा ५ विकेट लिएका थिएनन् ।  

बंगलादेशले अब दुई खेल खेल्न बाँकी छ लिग चरणमा । उसको ७ खेलमा ७ अंक भएको छ । र, पाँचौं स्थानमा पुगेको छ । 

भारत र पाकिस्तानसंग मात्र खेल्न बाँकी रहँदा भिडन्त रोचक हुने नै छ । तर शकिबले देखेको सपना ठूलो छ । उनले आफ्नो टिमलाई फाइनलमा पुगेको देख्न पनि भारत र पाकिस्तानलाई हराउनु जरुरी छ । 

भारत हावी हुने सम्भावना उत्तिकै छ । तर पाकिस्तान राम्रो फर्ममा छैन । पाकिस्तान ६ खेलबाट ५ अंकसहित सातौं स्थानमा छ । पाकिस्तानसंग खेल्नुअघि बंगलादेशले भारतसंग खेल्नेछ । 

सेमिफाइनलको यात्रा तय गर्न यो खेल नै बंगलादेशका लागि महत्वपूर्ण हुन्छ । तसर्थ बंगलादेशको यात्रा कठिन छ । तर शकिब भने म्यान अफ द सिरिजका दावेदार भइसकेका छन् । 

उनमा अनुभवमात्र हैन धैर्य पनि छ । त्यही जादूले बंगलादेशलाई माथि भन्दा माथि पुर्याउन खोजिरहेको छ । 



मङ्गलबार १०, असार २०७६ १२:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.