चालू आर्थिक वर्षमा नेपालको आर्थिक अवस्था निराशाजनक देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाख मसान्तसम्मको आर्थिक तथा वित्तीय विवरणमा सबैजसो सूचकहरु नकारात्मक देखिएका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा मूल्यवृद्धि, व्यापारघाटा, चालु खाता घाटा र शोधानान्तर घाटा बढेको छ भने वैदेशिक लगानी र विदेशी विनिमय सञ्चिती घटेको छ । रेमिट्यान्स भने बढेको देखिएको छ ।
मुल्यवृद्धि बढ्यो
गत वर्षको वैशाख मसान्तको तुलनामा यस वर्ष मूल्यवृद्धि दर बढेको छ । गत वर्ष ४।१ प्रतिशतमा सीमित रहेको उपभोक्ता मुद्रस्फीति यस वर्ष ५।३ प्रतिशत पुगेको छ । खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ४।७ प्रतिशत पुगेको छ । मूल्यवृद्धि खाद्यान्नतर्फ ५।५, तरकारीतर्फ ६।३, माछामासु ४।७ र घ्यु तथा तेलमा ८।२ प्रतिशत पुगेको छ । गैरखाद्य तथा सेवाको मूल्यवृद्धि ५।८ प्रतिशत पुगेको छ । घरायसी सेवा तथा उपयोगिताका सामानमा ७।१, लुगा तथा जुत्तामा ७।०, यातायातमा ५।९ र फर्निचर तथा घरायसी उपकरणमा ५।७ प्रतिशत मूल्य वृद्धि भएको छ ।
व्यापारघाटा बढ्यो
गत आर्थिक वर्षको १० महिनाको तुलनामा व्यापारघाटा १९।७ प्रतिशतले बढेर १० खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यो अवधिमा निर्यात–आयात अनुपात ६।७ प्रतिशत कायम भएको छ जबकी अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६।८ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, वस्तु निर्यात १८।१ प्रतिशतले बढेर ७८ अर्ब ५३ करोड रुपैयाँ पुग्दा आयात भने १९।६ प्रतिशतले बढेर ११ खर्ब ७८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।
शोधानान्तर घाटा पनि बढ्यो
चालू खाताको घाटा र शोधानान्तर घाटा अत्याधिक रुपमा बढेको छ । चालू आर्थिक वर्षको १० महिनामा चालु खाता घाटा विस्तार भई रु।२२१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु।१९२ अर्ब ५ करोड रहेको थियो । यो अवधिमा शोधनान्तर स्थिति रु।६८ अर्ब २० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु।१८ अर्ब ९३ करोडले घाटामा रहेको थियो ।
वैदेशिक लगानी घट्यो
पुँजीगत ट्रान्सफर रु।१३ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु।९ अर्ब ४७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु।१४ अर्ब १५ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु।१५ अर्ब ५१ करोड रहेको थियो ।
विदेशी विनिमय सञ्चिती घट्यो
कुल विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्षको १० महिनाको अवधिमा करिब ४२ अर्ब रुपैयाँले घटेको छ । २०७५ असार मसान्तमा ११ खर्ब ०२ अर्ब ५९ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिती वैशास मसान्तसम्म आइपुग्दा ४१ अर्ब ८९ करोड रुपैयाँले घटेर १० खर्ब ६० अर्ब ७० करोड रुपैयाँ कायम भएको हो । आर्थिक वर्ष २०७५÷७६ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९।१ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ । यो अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३०।६ प्रतिशत, ६६।६ प्रतिशत र ३१।१ प्रतिशत रहेका छन् । २०७५ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३६।४ प्रतिशत, ७८।६ प्रतिशत र ३५।६ प्रतिशत रहेका थिए ।
रेमिट्यान्स आप्रवाह बढ्यो
विदेश जाने नेपाली कामदारको संख्या ३८।६ प्रतिशतले घटेपछि रेमिट्यान्स आप्रवाह १९।६ प्रतिशतले बढेर सात खर्ब २५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको वैशाख मसान्तमा यस्तो वृद्धिदर ७ प्रतिशत मात्रै थियो । यो अवधिमा खुद ट्रान्सफर आय १९।४ प्रतिशतले वृद्धि भई आठ खर्ब २६ अर्ब २० करोड रुपैयाँ पुगेको छ । बैंकिङ खबर ।
प्रतिकृया दिनुहोस