३ अर्ब ८६ करोड राजस्व संकलन कसरी

Yugnepal     709 पटक पढिएको    

३ अर्ब ८६ करोड राजस्व संकलन कसरी

 

प्रदेश–१ सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६(७७ को बजेटमा ३ अर्ब ८६ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । 

विराटनगर(सरकारले प्रस्तुत गरेको बजेटमा आन्तरिक स्रोतबाट ३ अर्ब ८६ करोड जुटाउने लक्ष्य लिएको देखिन्छ । जसमध्ये सवारी साधन करतर्फ १ अर्ब ५५ करोड संकलन गर्ने लक्ष्य राखिएको छ । चालू आर्थिक वर्षमा १ अर्ब ४१ करोड लक्ष्य राखिएको थियो । त्यस्तै चालू आवमा १ अर्ब ४ करोड लक्ष्य राखेकोमा आगामी आर्थिक वर्षमा १ अर्ब १७ करोड संकलन गर्ने लक्ष्य राखिएको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए । 
प्राकृतिक स्रोत अर्थात् ढुंगागिट्टीतर्फ ५५ करोड उठाउने लक्ष्य राखेको छ भने चालू आर्थिक वर्षमा प्राकृतिक स्रोत शीर्षकमा ४५ करोड उठाउने लक्ष्य लिएको छ । प्रशासनिक दण्ड जरिवानातर्फ चालू आवमा २५ करोड लक्ष्य रहेकोमा आगामी आवमा २६ करोड २० लाख लक्ष्य राखिएको उनले बताए । मनोरञ्जनतर्फ ५ करोड ५० लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएको मन्त्रालयका उपसचिव हरिहर पौडेलले जनाए । 
उनका अनुसार राजस्व बाँडफाँटबाट १० अर्ब ५२ करोड र अनुदानबाट २१ अर्ब २१ करोड व्यहोरिनेछ । जसमध्ये समानीकरण अनुदान ८ अर्ब १६ करोड, ससर्त अनुदान ७ अर्ब ४ करोड, विशेष अनुदान २ अर्ब र समपुरक अनुदानतर्फ ४ अर्ब छुट्याइएको छ । चालू आर्थिक वर्षको नगद मौज्दात करिब ६ अर्ब ६१ करोड रहने मन्त्रालयले अनुमान गरेको छ । प्रदेश सरकारले ४२ अर्ब २० करोड ४ लाख १२ हजार बराबरको बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३५ अर्ब ९३ करोड ६० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो । तर, जेठसम्ममा जम्मा १० अर्ब ५१ करोड रूपैयाँ मात्रै बजेट खर्च भएको छ । समग्रमा चालू आर्थिक वर्षमा २९।४० प्रतिशत मात्रै बजेट खर्च भएको छ । चालू आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले ३ अर्ब ६६ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । चालू आर्थिक वर्षको अन्तिमसम्ममा लक्ष्य पूरा हुने उपसचिव पौडेलले बताए ।



बुधबार ०४, असार २०७६ ०१:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal