नेकपा धरासायीः ओलीलाई पार्टीको आन्तरिक किचलो मिलाउन भन्दा भाषण प्यारो

Yugnepal     693 पटक पढिएको    

नेकपा धरासायीः ओलीलाई पार्टीको आन्तरिक किचलो मिलाउन भन्दा भाषण प्यारो

 


काठमाडौं । कुर्सीको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेताहरुलाई सकस भएको छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन हुन नसकेपछि मंगलबारदेखि नेकपाको सचिवालय बैठक बस्दै रोकिँदै गरेको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको आन्तरिक किचलो मिलाउनमा भन्दा भाषण प्यारो भएपछि सचिवालय बैठकले कार्यविभाजनमा निर्णय गर्न सकेको छैन । बैठक बिहाीबार बिहान पनि बस्दैछ ।

तर यो बैठकले पनि निष्कर्ष निकाल्ने छाँट नभएको एक सचिवालय सदस्यले बताएका छन् । उनले अलि रिसाएको मुद्रामा भने, ‘सहमति भएपछि त बाहिर आइहाल्छ नि ।’

तर उनले आज नभए भोलि हुन्छ र भोलि नभए प्रधानमन्त्री ओली युरोप भ्रमणबाट फर्केपछि हुन बताए । यसबाटै स्पष्ट बुझ्न सकिन्छ कि बिहीबार पनि समाधान निस्कने सम्भावना न्यून छ ।

ती सदस्यले भने, ‘नेताहरुबीच सहमति हुन्छ । सहमतिबाट उहाँहरु भाग्न पाउनु हुन्न । समय लाग्न सक्ला ।’

बुधबारको बैठकबारे भने उनी अलि रिसाएको भावमा भने, ‘प्रधानमन्त्री ज्यूलाई पार्टी मिलाउने फुर्सद छैन । भाषण गर्न गम्भीर बैठक छाडेर जानुभयो । हामी त कामै नभएका ।’

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बनेको एक वर्षपछि पनि कामको बाँडफाँड हुन सकेको छैन । प्रधानमन्त्री ओलीसहित सत्तामा बसेका नेकपाका नेताहरुलाई फुर्सद नहुने अनि सत्ता बाहिर बसेका नेताहरुले पार्टीको काम समेत नपाउने गर्दा उनीहरुले अन्याय भएको महसुस गरिरहेका छन् ।

केन्द्रीय सदस्यहरुलाई जिल्ला कमिटी इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न जारी सचिवालय बैठकमा शीर्ष नेताहरुबीच सहमति जुट्न सकेको छैन। कार्यविभाजनको विषयलाई लिएर नेताहरुबीच मत बाझिएको छ ।

ओली एकातिर बाँकी तत्कालीन एमालेका नेताहरु अर्कोतिर

ओलीले मन्त्री र सांसद रहेका नेताहरुलाई नै जिल्ला इन्चार्ज र सहइन्चार्ज बनाउने प्रस्ताव गरेका छन् । तर अन्य नेताहरु यसबाट फरक सोचमा छन् । वरिष्ठ नेता माधवकुमार नेपाल यसमा असहमत छन् । झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पनि माधव नेपाललाई समर्थन गरेका छन्।

नेपालसहित वामदेव बढी आक्रामक हुँदै जिम्मेवारी नपाएका नेताहरुलाई कामविहीन राखेर मन्त्री र सांसदको जिम्मेवारी लिएकालाई थप जिम्मेवारी दिन नहुने बताउँदै आएका छन् ।  एक व्यक्ति एक पदमा यी नेताहरु अडिक छन् । तर त्यतातर्फ दोहोरो भूमिकामा रहेका ओली मान्न तयार छैनन् ।

उनलाई साथ दिन ईश्वर पोखरेल खडा भएका छन् । उनी सरकारमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री छन् भने पार्टीमा पनि सचिवालय सदस्य छन् ।

यसकै कारण पटक पटक पोखरेलले सरकारमा मात्र हैन पार्टीमा पनि रक्षामन्त्रीकै भूमिका खेल्दै ओलीको रक्षा गरिरहेका छन् ।

कसैलाई जिम्मेवारीको खातैखात र कसैलाई जिम्मेवारी बिहीन बनाएर खाली हात बनाउने ओली नीतिको विरोध भइरहेको छ ।

प्रधानमन्त्री ओली यही जेठ २५ गते युरोप भ्रमणमा लाग्दैछन् । त्यसअघि नै केन्द्रीय सदस्यको कार्यविभाजन टुंगो लगाउने योजना बुनिएको भए पनि पूरा हुने सम्भावना छैन ।

 



बिहिबार २३, जेठ २०७६ ०१:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal