बिहे गर्न दबाब दिँदा प्रेमिकाको हत्या

Yugnepal     710 पटक पढिएको    

बिहे गर्न दबाब दिँदा प्रेमिकाको हत्या

बिहे गर्न दबाब दिँदा प्रेमिकाको हत्या

रुपन्देही(प्रेम सम्बन्धका कारण रुपन्देहीमा एक युवतीको ज्यान गएको छ । गैडहवा गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष १८ की सबनमको उनकै प्रेमीले हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
सबनम वैशाख ३० गते राति आफ्नै घरबाट हराएकी थिइन् । उनी जेठ १ गते घरनजिक रुपन्देही र कपिलवस्तुको सिमास्थित सुख्खा खोलामा मृत अवस्थामा फेला परेकी थिइन् । घरनजिकै बस्ने असिरुद्धिन मुसलमानसँग उनको प्रेम रहेको अनुसन्धानका क्रममा खुलेको र मायाप्रेमकै कारण सबनमको हत्या असिरुद्धिन र उनका साथीहरु मिलेर गरेको रुपन्देही जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक हृदय थापाले बताए । 

मृतकले आफ्ना प्रेमीलाई विवाह गर्न दबाब दिएको तर नमानिरहेको अवस्थामा घटनाका दिन राति सबनमलाई असिरुद्धिनले घरबाट बाहिर निस्कन लगाएर ५०० मिटर पर लगी घाँटीमा सलले कसेर हत्या गरेको अनुसन्धानले देखाएको थापाको भनाइ छ । मृतकले दुईवटा सुरुवाल लगाएको फेला परेको छ । 
घरबाट भागेर जाने भनेर दुई सुरुवाल लगाएर आउन भनेको र घर नजिकै पुग्दा आफूलाई विवाह गर्न भन्दा अहिले नगरौं भनी प्रेमिले भन्दा दुई झापड गालामा सबनमले हिर्काएकी थिइन् । झापड खाएका प्रेमी आक्रोशित भई तत्कालै साथीहरुसँग मिलेर सबनमको घाँटीमा सलले कसेर हत्या गरेको आरोपितले पत्रकार सम्मेलनमा बताए । 
उनीहरुले हत्यालगत्तै सबनमको मृत शरीरलाई घाँसपातले सोहि स्थानमा छोपी गएको र भोलिपल्ट पुनः राति आएर नजिकैको सुख्खा खोलामा छाडेर गएको अनुसन्धानमा खुल्न आएको छ । असिरुद्धिन र उनका साथी अश्लम घटनाकै दिनदेखि फरार रहेकोमा उनीहरुलाई ईलाका प्रहरी कार्यालय लुम्बिनीले नियन्त्रणमा लिएको थियो । उनीहरु भाग्दै भारत आफन्तकहाँ समेत पुगेको र पछि फर्केर नेपाल आउँदा पक्राउ परेको जनाइएको छ । 
यो घटनामा अझै एक जना संलग्न रहेको र छिटै नियन्त्रणमा लिने प्रहरीले जनाएको छ । हत्या आरोपित दुवैजनालाई कर्तव्य ज्यानको मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्त धर्म भण्डारीले बताए । 
असिरुद्धिनको उमेर २३ वर्ष र अश्लमको उमेर २१ वर्ष छ । मृतक र मुख्य आरोपित असिरुद्धिनको घर नजिकै रहेको र असिरुद्धिनको आर्थिक अवस्था अलि मजबुत रहेको परिवारको र सबनम आर्थिक अवस्था कमजोर रहेको परिवारको रहेको बताइएको छ । 
घटनामा संलग्न सबैलाई कडा कारबाही गर्न स्थानीयले माग गर्दै आएका छन् । घटनापछि स्थानीयले आरोपित असिरुद्धिनको घरमा आगो लगाउनुका साथै ट्याक्टर जलाइदिएका थिए । उनीहरुबीच करिब ६ महिनादेखि सम्पर्क हुँदै आएको र मोबाइल फोनसमेत किनेर सबनमलाई असिरुद्धिनले दिएको प्रहरीले जनाएको छ । मोबाइलमा बारम्बार कुरा हुने गरेको रेकर्डसमेत प्राप्त भएको प्रहरीले जनाएको छ । शेयर गर्नुहोस ।



मङ्गलबार २१, जेठ २०७६ ०५:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.