नेपाली काँग्रेसकाे सभापतिमा गगन थापा निर्वाचित

Yugnepal     34 पटक पढिएको    

नेपाली काँग्रेसकाे सभापतिमा  गगन थापा निर्वाचित

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीलाई सबै प्रकारका परिवारवाद र गुटबन्दीबाट मुक्त भएको घोषणा गरेका छन्। काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले अबदेखि कांग्रेसमा कुनै पनि 'भागबण्डा' वा गुटगत राजनीति नरहने र पार्टी पूर्ण रूपमा एकताबद्ध भएको बताए। 


वर्षौंदेखि कार्यकर्ताले चाहेको गुटमुक्त कांग्रेसको सपना आज पूरा भएको जिकिर गर्दै उनले अब पार्टीमा ६० वा ४० प्रतिशतको कुनै पनि समूह नरहेको र सबै कांग्रेसजन एउटै भएको घोषणा गरे।

सभापति थापाले कांग्रेसजस्तो ऐतिहासिक पार्टीको नेतृत्व गर्न पाउनु आफ्ना लागि गर्वको विषय भएको बताउँदै कुनै पनि हालतमा कार्यकर्ताको शिर निहुरिन नदिने संकल्प गरे। उनले पार्टीका सदस्यहरूको आत्मसम्मान र अभिमत जोगाउनु आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पारे। 

१४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई चुनेका प्रतिनिधिहरूले नै अहिले आफूलाई निर्वाचित गरेको उल्लेख गर्दै उनले पार्टी नफुटेको र यो केवल नेतृत्वको वैधानिक रूपान्तरण मात्र भएको प्रष्ट पारे। "नेपाली कांग्रेसको सभापतिको नाम लिँदा मात्रै पनि गर्वले छाती फराकिलो हुन्छ, म यो जिम्मेवारी इमानदारीका साथ निभाउँदै कांग्रेसको शान राख्नेछु," उनले भने।

विशेष महाधिवेशनको वैधानिकताका विषयमा बोल्दै सभापति थापाले निर्वाचन आयोगले यसलाई मान्यता दिनेमा आफू पूर्ण विश्वस्त रहेको बताए। उनले संविधानद्वारा स्थापित निर्वाचन आयोग कुनै पनि अवैध शक्तिको प्रभावमा नपर्ने विश्वास व्यक्त गर्दै आयोगले प्रचलित कानुन, पार्टीको विधान र परम्परा हेरेर निर्णय गर्ने अपेक्षा राखे। 

उनले विधानमा महाधिवेशन प्रतिनिधिभन्दा माथि अरू कुनै संरचना नभएकाले प्रतिनिधिको बहुमतको निर्णय नै अन्तिम हुने तर्क गरे। साथै, उनले निवर्तमान सभापति देउवालाई अब सक्रिय राजनीतिबाट विश्राम लिनुपर्ने आफ्नो अडान पुनः दोहोर्‍याए।



बिहिबार ०२, माघ २०८२ ०५:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal