नेपाली कांग्रेसको निष्कर्ष - बजेट जनताको चाहना विपरीत

Yugnepal     664 पटक पढिएको    

नेपाली कांग्रेसको   निष्कर्ष  -  बजेट  जनताको चाहना विपरीत


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले जनताको चाहनाविपरीत बजेट ल्याएको निष्कर्ष निकालेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको दलको बैठकले सरकारले आगामी आर्थिक २०७६–०७७ का लागि ल्याएको बजेट जनताको चाहना प्रतिकूल हुने गरी आएको निष्कर्ष निकालेको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा सरकारले नेपाली जनताको चाहना विपरीत बजेट ल्याएको निष्कर्ष बैठकले गरेको जानकारी दिए । ‘‘रोजगारीको अवसर बढाउने, मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने, उत्पादन वृद्धि गर्ने भन्दा पनि बजेट जनतालाई थप ऋणको भार थोपर्ने गरी आएको छ,’’ उनले भने । 

सरकारले बजेटलाई वितरणमुखी शैलीमा ल्याएको टिप्पणी गर्दै उनले बजेटले मुलुकलाई जनताले चाहेको जस्तो विकसित र समृद्ध बनाउन नसक्ने दाबी गरे । ‘‘सरकारले बजेटलाई वितरणमुखी शैलीमा ल्याएको छ । यसले जनताले चाहेको जस्तो मुलुकलाई विकसित र समृद्ध बनाउन सक्दैन,’’ खाँणले भने । 

सरकारले आफूसँग भएको रकमलाई विकास निर्माणमा र पूँजीगत रुपमा खर्च गर्नुभन्दा पनि चालु खर्च बढ्ने खालको र बजेटको सुरुवातमै एक तिहाइभन्दा ठूलो हिस्सा ऋणको रुपमा ग्रहण गरेर खर्च गर्ने सोच राखेको बताए । ‘‘यसले गर्दा नेपाली नागरिकमाथि ऋणको बोझ थपिदै जान्छ । विकासको प्रतिफल आउन सक्दैन । रोजगारी सिर्जना गर्न सक्दैन । उत्पादन पनि नबढ्ने भएकाले व्यापार घाटा अझै बढेर जान्छ,’’ उनले भने ।  बैठकले सांसदहरुका लागि विनियोजन गरिएको छ करोड रुपैयाँ बराबरको बजेट दुरुपयोग गरे तत्काल विरोध गर्ने निर्णय गरेको खाँणले जानकारी दिए



शुक्रबार १७, जेठ २०७६ ०५:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal