पाँचथर घटना रहस्यमयी कांग्रेस प्रवक्तासहितको टोली निरीक्षणमा
काठमाडौं। नेपाली कांग्रेसले पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ मा ९ जनाको हत्या हुने गरी भएको क्रुर घटना रहस्यमयी भएको बताएको छ ।
कांग्रेसले सो घटनाको गहिरो रूपमा छानबिन गर्न सरकारसँग माग गरेको छ । कांग्रेसले विज्ञप्तिमार्फत घटनाको गम्भीर रूपमा छानबिन गरिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
गत सोमबार एकै रातमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका धनराज शेर्मा लिम्बू र बमबहादुर फियाक लिम्बूको परिवारका नौ जनाको हत्या भएको थियो । सो घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
कांग्रेसले सो घटनाको स्थलगत निरीक्षणका लागि केन्द्रीय प्रवक्ताको नेतृत्वमा एक टोलीसमेत पठाएको छ । कांग्रेसले दुई परिवारको सामूहिक हत्या हुने गरी गरिएको रहस्यमयी घटनाको अनुगमनका लागि भन्दै बुधबार पार्टी प्रवक्ता विश्वप्रकाश शर्मासहितको टोली पाँचथर पठाएको हो ।
प्रवक्ता शर्मासँगै सो टोलीमा केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बे र पाँचथर सभापति नरेन्द्र केरुङ लिम्बु छन् । कांग्रेस केन्द्रीय सदस्य रहेका आङ्दम्बे पाँचथरका स्थानीयसमेत हुन् । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले घटनालाई गम्भीरतापूर्वक लिँदै नेताहरूलाई अनुगमनका लागि पठाइएको जानकारी दिए । प्रहरीले हत्यामा पारिवारिक कारणसमेत रहेको हुन सक्ने बताउँदै आएको छ । प्रहरीले हत्यामा संलग्न रहेको आशंका गरेका व्यक्तिसमेत घटनास्थलभन्दा केही पर झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । सो व्यक्तिको शवसँगै धारिलो हतियार र रगत लतपतिएको कपडासमेत प्रहरीले फेला पारेको थियो ।
प्रतिकृया दिनुहोस